Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

ओखलढुंगाको मानेभञ्ज्याङ-७ र दाङका निकुञ्ज प्रभावितले गरे मतदान बहिष्कार

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते ११:०९
Image of https://mayorsap.com/storage/photos/shares/election_3.jpg

काठमाडौं । दाङमा बाँके राष्ट्रिय निकुञ्ज प्रभावितहरूले मतदान बहिष्कार गरेका छन् । दाङ मध्यवर्ती क्षेत्र बबइ गाउँपालिका-७ देउती मावि मलई मतदान केन्द्र र बबई-१ मा रहेको जनता आधारभूत विद्यालयको केन्द्रमा समाचार तयार पार्दासम्म एक जनाले पनि मतदान गरेका छैनन् । यो दाङ क्षेत्र नम्बर ३ मा पर्छ । यहाँबाट कांग्रेसबाट दीपक गिरी, एमालेबाट घनश्याम पाण्डे, नेकपाबाट धनबहादुर मास्की, रास्वपाबाट कमलसुवेदीलगायत उम्मेदवार छन् ।

मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार साढे १० बजेसम्म बबइ गाउँपालिका-७ देउती मावि मलई मतदान केन्द्रमा मतदाता आएका छैनन् । मतदान केन्द्र सुनसान छ । यहाँ ६८२ मतदाता रहेका छन् ।

त्यस्तै बबइ-१ को एउटा केन्द्रको अवस्था पनि यस्तै छ । अहिलेसम्म मतदाता आएका छैनन् । जनता आधारभूत विद्यालयमा ५३० मतदाता रहेका छन् । निकुञ्च प्रभावित संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुरले राङु मगरले आफूहरुले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताउँदै मतदान नगर्ने बताए ।

त्यस्तै, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले पनि मतदान बहिष्कार गरेका छन् । प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीका अनुसार, बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान नगरेको जानकारी दिए । उनका अनुसार, मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदाता मतदानमा सहभागी नभएका हुन् । सो केन्द्रमा मतदान गर्ने मतदाताको संख्या ७०१ जना रहेको छ । प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै स्थानीयले मतदान बहिस्कार गरेकाे बुझिएकाे छ ।

त्यस्तै अपि हिमाल-३ को दुधिला मावि केन्द्रमा मत हाल्नै कोही आएका छैनन् । यसअघि यहाँका स्थानीयले यहाँका दुई वटा केन्द्रमा मतदानमा सहभागी नहुने निर्णय गरेका थिए । नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय झुस्कुका मतदाताले मतदान नगर्ने निर्णय गरेका हुन् ।

नागुबासीलाई बुधबार पनि सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल पुगेर मत हाल्न अनुराेध गरे पनि उनीहरुले मतदान नगर्ने बताएका हुन् । नागु विकास संघर्ष समितिसँग छलफल गर्न धनगढीबाट नेपाली सेनाको हेलिकप्टर चढेर अर्याल बुधबार दिउँसो नागु पुगेका थिए । माघ १ गतेबाटै संघर्ष समिति बनाएर नो भोटका पक्षमा उभिएका नागुबासीले योपटकको निर्वाचनमा मतदान नगर्ने निर्णय यथावत राखेको संघर्ष समितिका संयोजक करनसिह डडालले जानकारी दिए ।

यसअघि नागुवासीलाई फकाउन माघ २४ गने प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्को टोली पुगेको थियो । निर्वाचन गराउन नागु पुगेको मतदान अधिकृत चन्द्रसिंह खातीले सर्वदलीय बैठकमा दलको प्रतिनिधि नआए पनि स्थानीयको सहभागितामा निर्वाचनको तयारी थालिएको थियो । नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा ६०२ मतदाता रहेका छन् ।


Facebook Comments