बाजुरामा ऐतिहासिक मतदान, ५२.६२ प्रतिशत मत खस्यो
गोविन्द तिमिल्सेना
|
२०८२ फागुन २१ गते १८:१९
बाजुरा । बाजुरा जिल्लामा यसपटक पहिलोपटक शान्तिपूर्ण तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको छ। विगतका निर्वाचनमा धाँधली, झैझगडा र बुथ कब्जाका घटना हुँदै आएको बाजुरामा यसपटक भने नागरिकले स्वतन्त्र रूपमा मतदान गर्न पाएको बताएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ७ बजेदेखि ९ वटै स्थानीय तहका विभिन्न मतदान स्थलमा सुरु भएको मतदान साँझ ५ बजेसम्म कुनै अप्रिय घटना नघटी सम्पन्न भएको हो। मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले यसपटकको निर्वाचन बाजुराका लागि नमुना र ऐतिहासिक बनेको बताए।
जिल्लामा कुल ८७ हजार ८६१ मतदाता रहेका छन्। तीमध्ये ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र २ जना अन्य मतदाता रहेका छन्। निर्वाचनमा ४६ हजार २३२ मत खसेको छ, जुन करिब ५२.६२ प्रतिशत हो।
बाजुरामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ। यहाँ ७७ मतदान स्थल र ११८ मतदान केन्द्र स्थापना गरिएको थियो। साथै एक अस्थायी मतदान केन्द्र पनि राखिएको थियो, जहाँ १ हजार ४०० भन्दा बढी मतदाता रहेका थिए।
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न उच्च सुरक्षा व्यवस्था मिलाइएको थियो। करिब ७०० कर्मचारी, ४ सयभन्दा बढी नेपाल प्रहरी, करिब २ सय सशस्त्र प्रहरी, ३ सयभन्दा बढी नेपाली सेना तथा १ हजार ६० जना म्यादी प्रहरी परिचालन गरिएको थियो। जिल्लाका ६२ मतदान केन्द्र अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य वर्गमा राखिएका थिए।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दुई युवाको मृत्यु भएको घटनापछि यसपटकको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न भएको भन्दै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले खुसी व्यक्त गरे। उनले निर्वाचन सफल बनाउन सहयोग गर्ने सुरक्षाकर्मी, कर्मचारी, निर्वाचनकर्मी र सञ्चारकर्मीलाई धन्यवाद दिएका छन्।
सबै मतदान स्थलका मतपेटिका सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएपछि मात्रै मतगणना सुरु गरिने बताइएको छ। दुर्गम क्षेत्र गुम्बा, बिच्छ्या र बौडीका मतपेटिका भने हेलिकप्टरमार्फत ल्याइने तयारी गरिएको छ। केही मतपेटिका सदरमुकाम पुगिसकेका छन् भने बाँकी आज राति र भोलि बिहानसम्म ल्याइने जनाइएको छ।
बाजुरामा यसपटक एक स्वतन्त्रसहित ७ दलका उम्मेदवार चुनावी मैदानमा रहेका छन्। मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलबीच हुने अनुमान गरिएको छ।
Facebook Comments