बाजुरामा पाँच जना उम्मेदवारकाे धराैटी जफत

User Image गोविन्द तिमिल्सेना | २०८२ फागुन २४ गते १९:०७
Image of https://mayorsap.com/storage/photos/shares/img-20260308-wa0001.jpg

बाजुरा| बाजुरामा पाँच जना उम्मेदवारकाे धराैटी जफत भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरुको धराैटी जफत भएको हाे।

बाजुरामा कुल ४३ हजार ८९६ मत सरद हुँदा धरौटी जोगाउन ४ हजार ३९० मत आवश्यक थियो।तर यी पाँच उम्मेदवारले साे मत ल्याउन नसक्दा धराैटी जाेगाउनबाट पछी परेका हुन्।

धराैटी जफत हुनेमा नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाह,राप्रपाका केशर बहादुर शाही,प्रलाेपाका दिपक डिसी,माओवादीका भुपेन्द्र विक र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही रहेका छन्।

नेकपाका शाहले ३ हजार ३ सय १,राप्रपाका शाहीले ३ सय ५२ प्रलाेपाका डिसीले ९७ माओवादीका विकले ३ सय ३३ र स्वतन्त्रका शाहिले ७२ मत मात्रै प्राप्त गरेका हुन्।कुल खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था छ।  

निर्वाचन ऐनको दफा ७० (१) अनुसार प्रत्यक्ष उम्मेदवारले दश हजार रुपैयाँ धरौटी राख्नुपर्छ। उक्त दफाको उपदफा (२) मा महिला र दलित वा अल्पसंख्यक समुदायका उम्मेदवारले उपदफा १ बमोजिमको धरौटीमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ ।

प्रतिनिधिसभा सदस्य बन्न चाहने व्यक्तिले १० हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ ।निर्वाचनमा गम्भीर उम्मेदवार सहभागी तथा जसले साँच्चै चुनाव लड्न चाहन्छ,उसले धराैटी राख्छ।अनावश्यक उम्मेदवार नआउनकाे लागी धराैटी राख्ने गरिन्छ।

बाजुरामा आठ उम्मेदवार चुनावी मैदानमा थिए। एमालेका लाल बहादुर थापालाई ५४० मतले पछाडी पार्दै कांग्रेसका जनकराज गिरीले जित हासिल गरे।गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गर्दा एमालेका थापाले  १६ हजार ६ सय ३३  मत प्राप्त गरेका हुन्।त्यस्तै रास्वपाका हेमराज थापाले ६ हजार ३५ मत प्राप्त गरेका हुन्।


Facebook Comments