माघमा मुद्रास्फीति घट्यो, वार्षिक दर ३.२५ प्रतिशतमा सीमित

User Image मेयरसाप डेस्क | २०८२ फागुन २८ गते ०९:३९
Image of https://mayorsap.com/storage/photos/shares/photo-1-d748998e-3ec4cd37.png

काठमाडौं । गत माघ महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति घटेर ३.२५ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो ।

प्रतिवेदनअनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत तथा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत रहेको छ । चालू आर्थिक वर्ष २०८२÷८३ को सात महीनाको औसत मुद्रास्फीति १.९२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४.८६ प्रतिशतभन्दा निकै कम हो ।

खाद्य समूहअन्तर्गत तरकारीको मूल्य ११.६३ प्रतिशत, घ्यू तथा तेल ७.६१ प्रतिशत र फलफूल ७.४१ प्रतिशतले बढेको छ । यद्यपि दाल तथा गेडागुडी ५.१९ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थ २.९७ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी ५.१४ प्रतिशत मुद्रास्फीति देखिएको छ भने कर्णाली (१.६२ प्रतिशत) र सुदूरपश्चिम (१.६४ प्रतिशत) मा सबैभन्दा कम रहेको छ। काठमाडौं उपत्यकामा मुद्रास्फीति ३.४८ प्रतिशत रहेको छ । यस्तै, गत माघमा थोक मुद्रास्फीति ६.२१ प्रतिशत पुगेको छ। तुलना गर्दा सन् २०२६ जनवरीमा भारतको उपभोक्ता मुद्रास्फीति २.७५ प्रतिशत रहेको उल्लेख गरिएको छ ।


Facebook Comments