बझाङमा एक महिनादेखि टेलिफोन नेटवर्कमा समस्या, सेवाग्राही हैरान
डीबी विष्ट
|
२०८२ फागुन २८ गते १९:१९
बझाङ । जिल्लामा पछिल्लो एक महिनादेखि टेलिफोन नेटवर्कमा समस्या देखिँदा सेवाग्राहीहरू मर्कामा परेका छन्। विशेषगरी नेपाल टेलिकमको नमस्ते नेटवर्क प्रभावकारी रूपमा सञ्चालन नहुँदा सदरमुकाम चैनपुरसहित विभिन्न ग्रामीण क्षेत्रका नागरिकले दैनिक सञ्चार सेवामा कठिनाइ भोगिरहेका छन्।
बझाङका दुर्गम गाउँबस्तीहरूमा पहिलेबाटै नेटवर्क समस्या रहेको भए पनि सदरमुकाम चैनपुरमा यस्तो समस्या कम देखिन्थ्यो। तर पछिल्लो समय भने ग्रामीण भेगमा जस्तै समस्या चैनपुरमै पनि देखिन थालेको स्थानीयले बताएका छन्।
नागरिक समाजका अगुवा दिर्घराज उपाध्यायका अनुसार करिब एक महिनादेखि टेलिकमको नेटवर्कले राम्रोसँग काम नगरेका कारण सेवाग्राहीहरू समस्यामा परेका छन्। उनका अनुसार फोन गर्दा रिङ नजाने, रिङ नपुग्दै फोन उठ्ने, एकतर्फी आवाज मात्र सुनिने, एक जनालाई गरेको फोन अर्कैलाई जाने, फोन काट्न खोज्दा नकटिने, नेटवर्क देखिए पनि काम नगर्ने, इनकमिङ कल रिसिभ नहुनेजस्ता समस्या बारम्बार देखिने गरेका छन्।
“यो समस्या प्रतिनिधिसभा सदस्य निर्वाचन हुनुभन्दा करिब तीन साताअघि देखिन थालेको हो। अहिले एक महिनाभन्दा बढी समय बितिसक्दा पनि समस्या समाधान भएको छैन। यस विषयमा सम्बन्धित निकायको ध्यान समेत पुग्न सकेको छैन”, दिर्घराज उपाध्याय बताउँछन् ।
स्थानीय बासिन्दा सुरेन्द्र सिंहले सदरमुकाममै यस्तो समस्या हुनु गम्भीर विषय भएको बताए। उनका अनुसार एक कल फोन गर्नसमेत धेरै पटक प्रयास गर्नुपर्ने अवस्था छ। उनले नेपाल टेलिकमको कार्यालयमा पुगेर बुझ्दा प्राविधिक समस्या भएको जानकारी पाएको र यो समस्या बझाङ मात्र नभई सुदूरपश्चिमका अन्य जिल्लामा पनि देखिएको जानकारी बताए। तर समाधानका लागि दिइएको आश्वासनपछि दुई हप्ता बितिसक्दा पनि समस्या यथावत् रहेको उनको भनाइ छ।
त्यस्तै साईपाल गाउँपालिकाका समाजसेवी उज्वल बहादुर बोहराका अनुसार दुर्गम बस्तीहरूमा त फोन सेवा झन् खराब अवस्थामा रहेको छ। उनले भने, “पहिले फोन गर्न अग्ला डाँडा, घरको छत वा रुखको टुप्पोसम्म पुग्नुपर्थ्यो। अहिले त त्यस्तो गर्दा पनि नेटवर्कले काम नगर्ने अवस्था छ। इन्टरनेट सुविधा पनि राम्रो छैन, त्यसैले सञ्चार गर्न निकै समस्या भइरहेको छ।”
यस विषयमा नेपाल टेलिकम बझाङका कार्यालय प्रमुख बम बहादुर सिंहले समस्या भएको स्वीकार गरेका छन्। उनले उक्त समस्याबारे क्षेत्रीय तथा केन्द्रीय कार्यालयलाई लिखित र मौखिक रूपमा जानकारी गराइसकेको बताए।
उनका अनुसार सेवाग्राहीको चाप बढ्नु, विद्युत आपूर्तिको अभाव तथा अन्य प्राविधिक कारणले नेटवर्क समस्या देखिएको हो। हालसम्म बझाङ जिल्लामा नेपाल टेलिकमका २६ वटा टावर जडान गरिएको उनले जानकारी दिए।
सिंहका अनुसार साईपाल, खप्तडछान्ना, तलकोट, बुंगल, थलारा, सुर्मा, विथ्थडचिर, दुर्गाथली, केदारस्युँ, छविसपाथिभेरा, मष्टा गाउँपालिका तथा जयपृथ्वी नगरपालिकाका केही क्षेत्रमा नेटवर्क कमजोर हुनुको मुख्य कारण विद्युत आपूर्ति नहुनु हो।
उनले थपे, “धेरैजसो टावरमा विद्युत आपूर्ति र ब्याट्रीको समस्या छ। बर्खाको समयमा घाम कम लाग्ने भएकाले सोलार प्रणालीबाट पनि पर्याप्त ऊर्जा उत्पादन हुँदैन। त्यसैले नेटवर्क सेवामा थप समस्या देखिन सक्छ।”
स्थानीयले भने सञ्चार जस्तो आधारभूत सेवामा देखिएको यस्तो समस्याको छिटो समाधान गर्न सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने माग गरेका छन्।
Facebook Comments