नयाँ प्रणाली जडान हुँदै, राहदानी सेवा केही दिन प्रभावित हुनसक्ने

User Image मेयरसाप डेस्क | २०८२ फागुन २९ गते ०७:०८
Image of https://mayorsap.com/storage/photos/shares/pararastra-mantralaya-ministry-of-foreign-affairs.jpg

काठमाडौं । परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडान गर्ने तयारी गरेको जनाएको छ। सोही क्रममा अन्तरिम अवधिमा राहदानी वितरण सेवा केही दिन प्रभावित हुनसक्ने विभागले जनाएको हो।

विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्नेछ। भने विभागबाट प्रदान गरिने राहदानी सेवा भने करिब एक सातासम्म अवरुद्ध हुन सक्ने सूचनामा उल्लेख गरिएको छ।

नयाँ प्रणाली जडान तथा कार्यान्वयनपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने बताइएको छ। त्यसैले उक्त अन्तरिम अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने देखिएको छ।

विभागले नयाँ प्रणाली जडानको प्रक्रिया अगाडि बढाइसकेको जनाउँदै आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह गरेको छ। साथै नयाँ प्रणालीसम्बन्धी थप सूचना निकट भविष्यमा सार्वजनिक गरिने पनि विभागले जनाएको छ। 


Facebook Comments