इरान तनावपछि तेल मूल्य उकालो, विश्व शेयर बजारमा गिरावट

User Image मेयरसाप डेस्क | २०८२ फागुन २९ गते १४:२९
Image of https://mayorsap.com/storage/photos/shares/iran-isarel-us-war.jpg

तेहरान/एएफपी — मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य तीव्र रूपमा बढेको छ भने विश्वभरका शेयर बजारहरू दबाबमा परेका छन्। इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने सम्भावना व्यक्त गरेपछि बजारमा थप अनिश्चितता देखिएको हो।

हर्मुज स्ट्रेट विश्व ऊर्जा आपूर्तिको अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ। यही मार्ग हुँदै विश्वको करिब एक पाँचौं भाग तेल तथा ग्यासको ढुवानी हुने गर्छ। खमेनीले सार्वजनिक रूपमा यो मार्ग अवरुद्ध गर्ने विकल्प ‘प्रयोग गर्नुपर्ने’ अवस्था आउन सक्ने चेतावनी दिएका छन्। उनले युद्ध जारी रहेमा अन्य संवेदनशील मोर्चा पनि खोल्न सकिने बताएका छन्।

यसैबीच, इरानले पछिल्ला दिनहरूमा खाडी क्षेत्रमा रहेका ऊर्जा संरचनामा आक्रमण गरेको आरोप लगाइएको छ। इराक नजिक जहाजहरूमा हमला, बहराइनमा इन्धन ट्यांकरमाथि धावा र साउदी अरबका तेल क्षेत्रहरूमा ड्रोन आक्रमण भएका घटनाले क्षेत्रीय तनाव अझ चर्किएको छ। इरानले आफ्ना ऊर्जा पूर्वाधार वा बन्दरगाहमाथि आक्रमण भए क्षेत्रको तेल र ग्यास संरचना नै ध्वस्त पार्ने चेतावनी पनि दिएको छ।

तेल मूल्य बढेसँगै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले वर्तमान अवस्थालाई ‘विश्व इतिहासकै सबैभन्दा ठूलो आपूर्ति अवरोधको जोखिम’ भएको संकटका रूपमा वर्णन गरेको छ। ब्रेन्ट क्रूडको मूल्यमा उल्लेखनीय वृद्धि भएसँगै विश्व ऊर्जा बजारमा अनिश्चितता थपिएको छ। ऊर्जा मूल्य बढ्दा विश्व अर्थतन्त्रमा मुद्रास्फीति र आर्थिक दबाब बढ्ने चिन्ता पनि बढेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिका विश्वकै ठूलो तेल उत्पादक भएकाले तेल मूल्य बढ्दा केही लाभ हुने बताएका छन्। तर उनले आफ्नो मुख्य प्राथमिकता इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्ने र मध्यपूर्वसहित विश्वको सुरक्षा सुनिश्चित गर्ने रहेको उल्लेख गरेका छन्।

ऊर्जा बजारमा अस्थिरता बढेसँगै विश्वभरका शेयर बजारहरूमा गिरावट देखिएको छ। टोकियो, हङकङ, शाङ्घाई, सिङ्गापुर, सिओल, मुम्बई, बैङ्कक, वेलिङ्गटन, मनीला र जकार्ताका बजारहरू घटेका छन्। बजार विश्लेषकहरूले हर्मुज स्ट्रेटमा अवरोध जारी रहे तेल मूल्य उच्च रहिरहने र शेयर बजारमा दबाब कायम रहने चेतावनी दिएका छन्।


Facebook Comments