पूर्वमहाप्रबन्धकको सुझाव–उदयपुर सिमेन्टको भविष्य अब नयाँ इन्जिनियरको हातमा

User Image मेयरसाप डेस्क | २०८३ जेठ ११ गते १२:५६
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2026-05-28-at-124514-pm.jpeg

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक गोपी न्यौपानेले धरासायी अवस्थामा रहेको उद्योग सञ्चालनका लागि १५ बुँदामा सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सुझाव दिँदै उद्योग सञ्चालनको भविष्य अब नयाँ इन्जिनियरको हातमा रहेको बताएका छन् । 

यस्ता छन् न्यौपानेका १५ बुँदे सुझावः

१. सरकार र व्यवस्थापनलाई अनुरोध:
सरकारी कर्मचारीलाई कम्तीमा भोकै नराखिदिनुहोस्, अवकाश प्राप्त कर्मचारी जसको कुनै आयस्रोत छैन, केही न केही राहत दिनुहोस्,
सप्लायर्सको भुक्तानी पनि जरुरी छ, खाता रोक्का गर्ने सप्लायर्ससंग नेगोसियसन गरेर बैंकमा भएको पैसाले उद्योगतत्काल चलायमान बनाउन बर्तमान व्यवस्थापनलाई अनुरोध।

२. सरकारले तत्काल गरिदिनुपर्ने बिषय:
उद्योगको पुंजीगत प्रकृतिको  मर्मतसम्भार गर्न, अपग्रेडिङ गर्न र नव प्रविधि भित्र्याउन सरकारले थप शेयर लगानी गर्नुपर्छ, यस अघिको सरकारी दायित्व ॠण शिर्षकको रकम, राजस्व  रकम अर्थ मन्त्रालयले शेयरमा  कन्भर्ट गरिदिनुपर्छ, बिद्युत प्राधिकरणलाई तिर्नुपर्ने बक्यौताको बिद्युत प्राधिकरणकै शेयर लगानी रहनेगरी सरकारले निर्णय गरिदिनुपर्छ। उद्योग रहेको स्थान र खानी रहेको जग्गा २०४६ सालको मन्त्रीपरिषद्को निर्णयानुसार उद्योगकै नाममा नामसारी गरिदिनुपर्छ।

३. बिद्युतको मासिक २ करोड जतिको लागत घटाऔं:
१० मेगावाट सोलार  जडानको संभाव्यता अध्ययन भैसकेकोछ। जलजलेको ३६२ हेक्टर जग्गामा वैकल्पिक ऊर्जाको प्रवर्द्धन र राष्ट्रिय प्रसारण लाइनमा यसको आबद्धताका लागि नेपाल विद्युत प्राधिकरण (NEA) ले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) सँग सहकार्य गर्दै सौर्य ऊर्जा (Solar), ग्रिड-टाई प्रणाली र नेट मिटरिङको व्यवस्थापन तथा NEA ले नै आवश्यक पूंजी शेयर लगानी गर्न सक्छ।

४. जग्गा उपयोग गरौं:
सडक छेउमा रहेको २० बिगाह  जग्गा बांझो नराखी केरा खेती गर्न प्रस्ताव गरिएको थियो, तर सरकारले भाडामा दिने निर्णय नगरिदिदा काम हुन सकेन।

५. थोरै लगानीमा क्षमता बिस्तार गरौं:
जापानीज कम्पनी ओनिडाले नै २०४७/४८ तिर उद्योग निर्माण गर्दा तत्कालीन अवस्थामा दैनिक ८ सय टन अर्थात १६ हजार बोरा र थप केही मेसिन जडान गर्नासाथ ११ सय मे. टन वा २२ हजार बोरा सिमेन्ट  दैनिक उत्पादन गर्न सकिनेगरी कुलर, कोल मिल लगायत धेरै जसो मिल मेसिनरीको डिजाइन र सप्लाइ गरेको रहेछ, हामीले क्षमता बिस्तारको प्रयास गर्यौं तर सरकारले सुनेन, अब सुनोस्।

६. कोइला र ईंट्टाको खर्च बचाऔं, ब्रेकडाउन हुन नदिऔं:
अहिले टावरमा ३०% जति र क्लिन सेलमा ७०% जति क्लिंकर पकाउने सिष्टम Suspention Pre-heater System जडान छ, यसले गर्दा मुस्किलले १ किलो कोइलाले  ४ किलो क्लिंकर पाक्छ। तर नजिकैका निजी उद्योगहरुमा Reinforcement Pre-heater System जडान गरिएको छ अर्थात टावरमा ७०% र क्लिन सेलमा ३०% पाक्छ र १ किलो कोइलाले १० किलो क्लिंकर उत्पादन हुन्छ।

उदयपुरको क्लिन सेलमा ७०% भार पर्ने भएकोले क्लिन सेल भित्र जडित महंगो Magnesia Crome ईंट्टा प्रयोग हुन्छ, जसको आधा भन्दा कम मूल्यको High Alumina Brick निजीहरुले प्रयोग गर्छन्।

एकपटक भट्टीमा ईंट्टा जडान  गरेपछि निजी उद्योगमा १० महिना टिक्छ, उदयपुरमा एक महिना टिक्यो भने मिठाई खाए हुन्छ।

७. खानी उत्खनन् नयाँ प्रविधिबाट गरेर खर्च घटाऔं:

खानी उत्खनन पनि सस्तो र नयाँ प्रविधि आइसक्यो तर हामी उही पुरानै पद्वति ब्लाष्टिङ  सिष्टम प्रयोग गरिरहेका छौं। 
बेलटारमा रहेको उद्योगको रातोमाटो खानीमा विभिन्न बन  उपभोक्ता समितिले कब्जा गरेका छन, उद्योगलाई छुट्याएको जग्गा बन कार्यालयले उपभोक्ताहरुलाई स्वीकृति दिनुपनि अख्तियारको दुरुपयोग हो। तर पनि हामीले खानी तथा चुरे  बाट स्वीकृति लिई आइइइ को चरणमा पुगाएका थियौं, अहिले के भैरहेको छ, मेसो छैन।

८. आगामी ५ बर्षको लागि राजस्व छुट वा फिर्ता गरेर लागत कम गरौं: 
सरकारी उद्योग लागत बढी हुने भएकोले यसलाई बचाउनको लागि अरु निजी उद्योग सरह खानी नविकरण, ढुंगा उत्खनन शुल्क तथा बिक्रीमा अन्त:शुल्क, मुअकर तथा आयकर, मेसिनरी पैठारीमा लाग्ने राजस्व छुट दिएर वा फिर्ता गर्ने व्यवस्था गरेर लागत कम गर्न सहयोग गर्नुपर्छ।

९. बजारको सूनिश्चितता:
उद्योगको उत्पादन र बिक्री बढाउने, उल्लिखित विभिन्न उपचारको माध्यमबाट लागत घटाउने हो भने यो उद्योग बच्ने छ र गैंडा छाप सिमेन्ट पाउन्जेल उपभोक्ताले अरु सिमेन्ट किन्ने छैनन् । कम्तीमा उदयपुर जिला भित्रका आयोजनाहरुमा अनिवार्य गैंडा सिमेन्ट, कोशी प्रदेशका ठूला आयोजनाहरुमा गैंडा सिमेन्ट मात्र प्रयोग गर्ने, बिद्युत प्राधिकरणले बनाउने पोल मा गैंडा सिमेन्ट प्रयोग गर्ने हो भने सिमेन्टको बजारको लागि मरिहत्ते पनि गर्नुपर्दैन।

अब बोरामा प्याकिंग गरिरहनु पनि पर्दैन, धुलै सिमेन्ट पनि बेच्न सकिन्छ, तर थोरै प्याकिंग सिष्टम चेन्ज गर्नुपर्छ। एडिबी लगायत अन्तर्राष्ट्रिय संघ संस्थाले निर्माण गर्ने आयोजना मा गैंडा छाप सिमेन्ट प्रयोग गर्न सकिन्छ। पहाडी जिल्लाका सडकहरु ढलान गरेर नेपाली सिमेन्ट, बालुवा, डण्डी, गिट्टीको प्रयोग गर्ने सरकारको नीति बन्नुपर्छ।

१०. सर्वपक्षीय स्वीकारोक्ति र नयाँ इन्जिनियरहरुले सूसासनमा जोड दिनुपर्ने दायित्व:
क) कर्मचारी मित्रहरु, बजेट नजिक आउदैछ, तपाईंहरु संग सबै चीज छ तर तपाईं हामी सबैको धेरथोर कारणले आज उद्योग यो स्थितिमा पुगेको हो, हामी स्वीकार गरौं। नयाँ इन्जिनियर साथीहरु हुनुहुन्छ, २७ जना। अब उद्योग तपाईं हरुले चलाउने जिम्मा लिनुपर्छ, आंट गर्नुहोस्, नव प्रविधिको लागि तालीमको माग गर्नुहोस्, अरु निजी उद्योग कसरी चलेका रहेछन्, सूक्ष्म अध्ययन गर्नुहोस् र उद्योग चलाउनुहोस। ख) हामी त सुझाव मात्रै दिन सक्छौं चलाउने जिम्मा त तपाईंहरुको हो। 
इन्जिनियर साथीहरुले कोल मिल निर्माता कम्पनी, जापानीज ठेकेदारले दिएको  कोइलाको GCV 4800-5470 र Moisture upto 10% लाई बिना कुनै रिसर्च, बिना कुनै निर्णय कसले र किन बढाउने घटाउने गरे ? 
ग) राम्रो कोइला पनि रिजेक्ट भन्दै भुक्तानी गर्दै क्लिन सेल अगाडि किन त्यति ठूलो परिमाणमा गाडियो ? 
घ) जापानीज स्टाण्डर्ड अनुसार चूनढुंगा ८२%, सिल्का स्याण्ड ३%, आइरन ओर २% र रातोमाटो १३% गरी Raw Mix  बनाउन तोकेको स्टाण्डर्डलाई चूनढुंगामा नै बालुवा आउने भयो, बालुवा नचाहिने भयो भनेर कसले बालुवा ल्याउन रोक्यो ? एउटै चट्टान भएको खानीमा कसरी बालुवाको मात्रा बढेर आयो ? कतै कोइलाको धुलो त बालुवा होइन ? कोइलाको धुलो जाने ठाउँमा बालुवा पसेपछि कोल मिलले कसो गर्ला, कोल सेन्डिङ सिष्टममा के असर पर्ला ? यसको सूक्ष्म अध्ययन गर्नुहोला। 
ङ) कहिले सिमेन्ट उद्योगले पिस्नै नसक्ने , कहिले पाक्दै नपाकेर फाल्नुपर्ने क्लिंकरको जिम्मा कसको हो?
च) कहिले जिप्सम कम मिसाउने, कहिले जिप्सम बढी मिसाएर सिमेन्ट सेटिङ टाइम बिगार्ने खेल कसको हो ? सूक्ष्म अध्ययन गरौं। 
छ) अहिले स्टक यार्डमा रहेको कोइला तपाई हरु बसेर चेक गर्नुहोस, मापदण्ड पुग्छ कि पुग्दैन ? 
ज) तपाईं हामी मिलेर गरेको  पारदर्शी कामको लागि चै यिनै नौटङ्कीहरुले उजुर गर्ने, बयान दिन जानुपर्ने ? 
११) असल जिएमको परिभाषा के ?
क) सबैलाई मिलाएर कमिसनको भागबन्डा गर्ने हो ? की आउने जतिलाई सित्तैमा सिमेन्ट बांड्ने हो ? की लाखौं रुपियाँ दिएर पत्रकार साथीहरुलाई खुस पार्ने हो ? की ३ हजार चन्दा दिने अधिकारको दुरुपयोग गरी करोड सम्म बांड्ने हो ? हो के ? होइन भने जसले अनियमितता रोक्यो, उसैलाई भ्रष्टचारीको ट्याग लगाएर घेराबन्दी गरेर हप्कीदप्की गरेर खेद्ने पुरुषार्थ देखाउने हो, अमुक जिएम खेदाएपछि उद्योग चल्ने मात्रै होइन, दौडिन्छ भन्ने साथीहरुले किन यस्तो बर्वादी पार्नुभयो ? सोध्नु त होस् आफ्नो मित्रलाई।

ख) तपाईं हामी मिलेर केही दीर्घकालीन निर्णयहरु गरेका थियौं, जुन २०७८/७९ को बित्तीय बिबरण संगै प्रतिबेदनको रुपमा प्रेषित छ, पढ्नुहोस, त्यहां भए गरेका काम कारबाहीको कुरो मात्रै छैन, यो उद्योग बचाउने भिजन र मिसन पनि छ। यिनै भित्र कालो मन भएका साथीहरुले महाबिर चौधरीजी जस्तो काममा लगनशील मित्रलाई जोश देखाउन उक्साए, म संग टाढा बनाए र उद्योग तहसनहस बनाए, यो त सत्त्य हो नी ? तपाईं नयाँ इन्जिनियर साथीहरुले पनि समयलाई बुझ्न नसकेकै हो, केही साथीहरु सेल्सको रिपोर्ट बोकेर हिंडे, केही साथीहरु एकाउन्टको रिपोर्ट बोकेर हिंडे तर त्यो उपलब्ध गराउने यिनै म संग नजिक भनेका साथीहरु थिए।

१२. सरकार संगको अपेक्षा: सरकारले बजेट मार्फत उद्योगको पुनर्निर्माण गर्नको लागि थप १ अर्वको शेयर लगानी गर्नुपर्छ, दैनिक ६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता बृद्वि र साबिकको क्षमता उपयोग गर्न यो ठूलो लगानी हैन । त्यसैगरी करीब ५० करोड जतिको छोटो अवधिको  कर्जा राष्ट्रिय बाणिज्य बैंकबाट उपलब्ध गराउनुपर्छ, सही उपयोग हुनुपर्छ। सूसासन जिएमले मात्रै होइन सबैले दिन सक्नुपर्छ । नयाँ इन्जिनियर साथीहरुको हातमा छ, उद्योग अघि बढाएर पुराना साथीहरुको पीडामा मलम लगाउने। 
१३. संघर्षरत कर्मचारी साथीहरुलाई अनुरोध:
क) असाध्यै भद्र असहमतिका साथ दैनिक सरकार र सरोकारवाला हरुलाई सुनाइरहनुभएको छ, आफ्नो पीडा। यो कार्यक्रम राख्न अलि ढिला भएको जस्तो लाग्छ। 
ख) अब तपाईंहरु पनि उद्योग चलाउने कार्यक्रम सहित अघि बढ्नुपर्छ, सरकारलाई बाटो देखाउनुपर्छ, अब यो बांकी रहनुभएका कर्मचारीहरुले उद्योग चलाउन सकिन्छ कि सकिदैन ? एक बर्ष भित्रै बाहिरिने कर्मचारी कती हुनुहुन्छ ? भएका कर्मचारीहरु ले लिड गरेर दैनिक ज्यालदारी कति चाहिन्छ ? एक एक बिभागको हिसाब किताब गर्नुहोस्, उद्योग सूचारु नहुइन्जेल १२ घन्टा बिना ओटी हामी सेवा गर्छौं भनेर प्रतिबद्धता जनाउनुहोस, बिकृति र विसंगति हुन दिन्नौं भनेर प्रतिवद्वता जनाउनुहोस, कामको जिम्मेवारी लिनुहोस, आएर चिसो एसीमा लहरै सुत्ने उता मेसिन जाम भएर नोक्सानी हुने बिकृति हरु हुन दिन्नौं भनेर प्रतिवद्वता जनाउनुहोस्। 
१४) सबै पक्षको प्रतिवद्वता, आजको आवश्यकता:
क) यो उद्योग सूचारु रुपमा संचालन गर्न सर्वपक्षीय प्रतिवद्वताको खाचो छ, असरग्रस्त छिमेकी बासिन्दाहरुको पनि प्रतिबद्वता चाहिन्छ, सबै प्रतिवद्व हुने हो भने उद्योग चल्छ, चलाउनुपर्छ, चलाउन सकिने राम्रो दक्ष व्यवस्थापकको नियुक्ति तत्काल गरेर प्रोसेस, मेकानिकल र इलेक्ट्रीकलका तीन जना विज्ञ राख्ने, कार्यकारी अध्यक्ष, उद्योग मन्त्रालय र अर्थ मन्त्रालयको  प्रतिनिधि संचालक रहने सानो तीन सदस्यीय संचालक समितिको व्यवस्था गर्ने एवं खरिद बिनियमावली, प्रशासनिक नियमावलीहरु समसामयिक संसोधन गरेर अघि बढ्न उपयुक्त हुनेछ।
ख) सरकारले लगानी थप गरेपछि रोपवे, स्ट्राइकर रिक्लाइमर, जिसिटी, ग्यांस एनालाइजर, र मिल सेल्लो, क्लिन सेल, बर्नर, कोल मिलको मर्मतसम्भार गर्ने, क्याल्सनाइर प्रविधिको जडान गर्ने, मिट्सुबिसी सिष्टम र साइमन सिष्टमलाई अपग्रेडिङ गर्ने लगायतका कामहरु गर्न बढीमा छ महिनाको समयसीमा राखेर कार्ययोजना बनाउने।
ग) ठूला बढी पावर खाने मेसिनहरुको नव प्रविधिबाट रिप्लेस गर्ने,
घ) सोलार जडान गर्न प्राथमिकता दिने।
ङ) कर्मचारीहरुको तलब दिदा प्रत्येक महिना डेढ महिनाको उपलब्ध गराउदै जाने, बिमा, नागरिक लगानी कोष र संचयकोष तत्काल भुक्तानी गर्ने,
च) अबकाश प्राप्त कर्मचारीहरुलाई तत्काल २०% र हरेक छ/छ महिनामा २०% गरेर फर्छ्यौट गर्दै जाने।
१५. सूरक्षाको जिम्मा शसस्त्र प्रहरीलाई:
सरकारले निर्णय गरेर उद्योग सूरक्षाको जिम्मेवारी शसस्त्र प्रहरीलाई दिनु उपयुक्त हुनेछ।


Facebook Comments