अवतरणकै क्रममा भारतीय वायुसेनाको विमान दुर्घटना

५ सैनिकको मृत्यु

User Image मेयरसाप डेस्क | २०८३ जेठ २७ गते १७:१३
Image of https://mayorsap.com/storage/photos/shares/indian-air-force.jpg

काठमाडौं । भारतको असम राज्यस्थित जोरहाटको रौरिया एयरबेसमा शनिबार बिहान अवतरणका क्रममा भारतीय वायुसेनाको एएन–३२ मालवाहक विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित ५ जना सैनिकको मृत्यु भएको छ भने एक जना सह–पाइलट घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमको ज्यान गएको हो ।

विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेपछि आगलागी भएको थियो भने विमान दुई टुक्रामा विभाजित भएको थियो । घटनापछि एयरबेसमा तत्काल आपत्कालीन उद्धार अभियान सञ्चालन गरी आगो नियन्त्रणमा लिइएको थियो ।

भारतीय वायुसेनाले दुर्घटनाको कारण अझै खुल्न नसकेको जनाएको छ । घटनाबारे अनुसन्धान गर्न ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिएको छ ।

दुर्घटनाग्रस्त एएन–३२ विमान भारतीय वायुसेनाले सैनिक तथा सैन्य सामग्री ढुवानीका लागि प्रयोग गर्दै आएको पुरानो मालवाहक विमान हो । भारतले अब यी पुराना विमानलाई विस्थापन गरी नयाँ पुस्ताका ‘मिडियम ट्रान्सपोर्ट एयरक्राफ्ट’ खरिद गर्ने तयारी गरिरहेको बताइएको छ ।


Facebook Comments