नेपालको विकास बजेट विदेशीको हातमा, अन्तिम चरणमा पुग्यो कानुन
अर्बौँको कोष चलाउन नेपाली अयोग्य
मेयरसाप डेस्क
|
२०८३ जेठ ३१ गते १६:४३
सरकारले वैकल्पिक विकास वित्त परिचालन कोषको सीइओ पदमा विदेशी नागरिकसमेत नियुक्त गर्न सकिने व्यवस्था अघि बढाएको छ । यो प्रावधानसहितको ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अहिले ऐन बन्ने अन्तिम चरणमा पुगेको छ । यो विधेयकले नेपालको विकासका लागि आवश्यक ठूलो रकम जुटाउने, ऋणपत्र, स्वपूँजी कोष र अन्य वित्तीय उपकरणमार्फत लगानी परिचालन गर्ने उद्देश्य राखेको छ । सरकारले बैंकिङ प्रणालीभन्दा बाहिरबाट पनि विकासका लागि पैसा जुटाउने नयाँ संरचना बनाउने सोचसहित यो कानुन ल्याएको बुझिएको छ ।
यो विधेयक सुरुमा तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनालको कार्यकालमा अघि सारिएको थियो, भने वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसलाई अगाडि बढाएका हुन् । प्रतिनिधिसभाले यो विधेयक गत जेठ २ गते नै पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । नियमअनुसार राष्ट्रिय सभाले विधेयक प्राप्त भएको १५ दिनभित्र सुझावसहित पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउनुपर्ने थियो । तर, राष्ट्रिय सभाबाट समयमै प्रक्रिया पूरा नभएपछि विधेयक अड्किएको अवस्था छ ।
त्यसपछि प्रतिनिधिसभाले जेठ २७ गते फेरि यो विधेयक पारित गरेको गर्यो । अब विधेयक सभामुखबाट प्रमाणित भएपछि राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि जानेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै ऐनका रूपमा लागू हुनेछ । यो ऐन लागू भएपछि ‘वैकल्पिक विकास वित्त परिचालन कोष’ स्थापना हुनेछ । कोष सञ्चालनका लागि एउटा सञ्चालक समिति रहनेछ । सो समितिको अध्यक्षता सम्बन्धित मन्त्रालयका सचिवले गर्नेछन् । दैनिक कामकाज, व्यवस्थापन र कार्यान्वयनका लागि भने प्रमुख कार्यकारी अधिकृत सीइओ रहने व्यवस्था गरिएको छ । यही सीइओ सम्बन्धी व्यवस्था अहिले चर्चाको विषय बनेको छ ।
विधेयकको दफा २० अनुसार सीइओ नियुक्तिका लागि योग्यता तोकिएको छ । तर सोही दफाको उपदफा ३ मा एउटा विशेष व्यवस्था राखिएको छ, जसअनुसार पहिलो पटक नियुक्त हुने सीइओका लागि विदेशी नागरिक वा विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त व्यक्ति पनि योग्य मानिनेछ । विधेकमा भनिएको छ– ऐन प्रारम्भ भएपछि पहिलो पटक अधिकतम चार वर्षका लागि यस्तो नियुक्ति गर्न सकिनेछ । अर्थात्, सुरुको चरणमा मात्रै विदेशी विशेषज्ञलाई ल्याएर कोष सञ्चालन गर्न सकिने बाटो खोलिएको छ ।
यो व्यवस्था अन्तर्राष्ट्रिय अनुभव भएका वित्तीय विशेषज्ञलाई नेपाल भित्र्याएर कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि गरिएको बताइन्छ । किनभने यो कोषले ठूलो स्तरमा विदेशी लगानी, बन्ड मार्केट, विकास वित्तीय उपकरण र अन्तर्राष्ट्रिय फन्ड व्यवस्थापन गर्ने भएकाले अनुभवी जनशक्ति आवश्यक पर्ने सरकारको भनाइ छ । तर, यो व्यवस्थालाई लिएर भने विभिन्न कोणबाट बहस सुरु भएको छ । कतिपयले यसलाई सकारात्मक रूपमा लिएका छन्, भने कतिपयले संवेदनशील आर्थिक संस्थाको नेतृत्व विदेशीलाई दिनु कति उपयुक्त नहुने भन्खै प्रश्न उठाइरहेका छन् ।
विधेयकअनुसार कोषको उद्देश्य भनेको सरकारलाई परम्परागत बजेट र कर राजस्वभन्दा बाहिर गएर पनि विकासका लागि पैसा जुटाउन सक्षम बनाउनु हो । सडक, ऊर्जा, पूर्वाधार, जलविद्युत् लगायतका ठूला परियोजनामा वैकल्पिक स्रोत प्रयोग गर्ने योजना यसमा समेटिएको छ । विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा लागू हुनेछ र त्यसपछि वैकल्पिक विकास वित्त परिचालन कोष औपचारिक रूपमा सञ्चालनमा आउनेछ । त्यसपछि मात्रै विदेशी नागरिक सीइओ बन्ने बाटो पनि कानुनी रूपमा खुला हुने देखिन्छ ।
हेर्नुहोस् भिडिओ:–
Facebook Comments