सरकारले खोज्न थाल्यो बिदा लिएर विदेशमै बसेका सरकारी कर्मचारी (भिडियोसहित)
पिआर लिएर बेपत्ता भएकामाथि कठोर कारबाही पक्रिया सुरु
मेयरसाप डेस्क
|
२०८३ जेठ ३२ गते १२:१५
काठमाडौं । अध्ययन, तालिम वा अन्य प्रयोजनका लागि बिदा लिएर विदेश गएका तर वर्षौंसम्म कार्यालयमा नफर्किएका कर्मचारीमाथि सरकारले कडा कदम चाल्न थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशको स्थायी आवासीय अनुमति अर्थात् पिआर लिएका र बिदा सकिएपछि पनि कार्यालयमा हाजिर नभएका दुई कर्मचारीविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयका अनुसार ती कर्मचारीले स्वीकृत बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नगरेको, कार्यालयसँग सम्पर्कविहीन बनेको र विदेशमा पिआर समेत लिएको पुष्टि भएको छ।
निजामती सेवा ऐनअनुसार बहालवाला सरकारी कर्मचारीले कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन पाउँदैनन्। त्यस्तै, बिदा अवधि समाप्त भएपछि ३० दिनभित्र कार्यालयमा हाजिर हुनुपर्ने कानुनी व्यवस्था पनि छ। तर ती कर्मचारीले यी दुवै व्यवस्था उल्लंघन गरेको निष्कर्षसहित मन्त्रालयले उनीहरूलाई भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कारबाहीको प्रक्रिया अघि बढाएको हो।
यसका लागि सम्बन्धित कर्मचारीलाई १५ दिनभित्र प्रमाणसहित आफ्नो सफाइ पेश गर्न भनिएको छ। तोकिएको समयभित्र स्पष्टीकरण नदिए वा दिएको जवाफ सन्तोषजनक नभए थप कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ।
यता सरकारले यस्तै प्रकृतिका अन्य कर्मचारीको खोजी र छानबिन पनि तीव्र बनाएको छ। निजामती किताबखानाको विवरणअनुसार हाल ५२९ जना कर्मचारी शंकास्पद देखिएका छन्। उनीहरू लामो समयदेखि बिदामा रहेको देखिए पनि त्यसपछि पदस्थापन, बढुवा, स्तरवृद्धि वा अन्य कुनै प्रशासनिक गतिविधिमा संलग्न भएको विवरण भेटिएको छैन।
शंकास्पद सूचीमा सबैभन्दा धेरै स्वास्थ्य मन्त्रालयअन्तर्गतका २८७ जना कर्मचारी छन्। त्यसपछि कृषि मन्त्रालयका ४२, वन मन्त्रालयका ३७, ऊर्जा मन्त्रालयका २९ तथा अन्य विभिन्न मन्त्रालय र निकायका कर्मचारी पनि अनुसन्धानको दायरामा परेका छन्।
सरकारले अब यस्ता कर्मचारीको वास्तविक अवस्था पत्ता लगाएर कानुनअनुसार निर्णय गर्ने जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न निगरानी थप कडा बनाइएको बताएकी छन्।
Facebook Comments