मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’ (भिडियोसहित)
मेयरसाप डेस्क
|
२०८३ साउन १७ गते १३:०४
काठमाडौंको व्यस्त क्षेत्र न्यूरोडस्थित सडक छेउमा मुस्कुराउँदै 'ॐ' लेखिएको कालो धातुको ह्यान्डप्यान बजाइरहेकी यी युवती । पहिलो नजरमा उनी कुनै सडक कलाकारजस्तै देखिन्छिन्। लामो खैरो घुम्रिएको कपाल, दुवै हातभरि ट्याटु, अनुहारभरि मुस्कान, छेउमा सानो झोला, अनि मधुर धुन निकालिरहेको ह्यान्डप्यान। उनको सङ्गीत सुन्न र हेर्न सडकमा हिँड्ने जोकोही केहीबेर रोकिन्छन्। धेरैले स्वेच्छाले उनको झोलामा पैसा पनि राखेर अघि बढ्छन्।
तर, उनी पेशेवर मगन्ते भने होइनन्। उनी नेपालका लागि विदेशी पर्यटक हुन् । नेपाल घुम्न आएकी रुसकी नागरिक लिरा ।
अब मनमा प्रश्न उठ्न सक्छ, विदेशबाट घुम्न आएकी पर्यटकले काठमाडौंको सडकमा बसेर किन पैसा मागिरहेकी छन् ?
यसको वास्तविकता भने झन् रोचक छ।
नेपालीका लागि सडक किनारमा बसेर सहयोग माग्ने दृश्य नयाँ होइन । तर कुनै विदेशी नागरिक नेपाली सडकमा यसरी बाजा बजाउँदै सहयोग मागिरहेको दृश्य भने धेरैका लागि नौलो बनेको छ । लिराका अनुसार उनी विगत पाँच वर्षदेखि विश्वका विभिन्न देश घुम्दै यात्रा गरिरहेकी छन्। तर उनको यात्रा गर्ने शैली भने अरूभन्दा फरक छ। उनी महँगा होटल, लक्जरी यात्रा वा ठूलो बजेटमा विश्वास गर्दिनन्। बरु, जुन देश पुग्छिन्, त्यहीँको सडकमा बसेर ह्यान्डप्यान बजाउँछिन् र मानिसहरूले स्वेच्छाले दिएको सहयोगबाट आफ्नो अर्को यात्राको खर्च जुटाउँछिन्। यसै क्रममा लिरा नेपाल पाइपुगेकी छन् । उनी नेपालबाट अब उज्बेकिस्तानको यात्रा तय गर्ने योजनामा छिन् । र त्यसकै लागि खर्च जुटाइरहेकी छन् ।
उनले आफ्नो छेउमा राखेको प्लेकार्डमा स्पष्ट नेपालीमै लेखेकी छन्, 'म रुसबाट हुँ। पाँच वर्षदेखि विभिन्न देश घुम्दैछु। अब उज्बेकिस्तान जाँदैछु। धन्यवाद।' साथै उनले आफ्नो इन्स्टाग्राम आइडी पनि राखेकी छन्।
अर्थात्, यो माग्ने काम होइन, यात्रा गर्ने उनको आफ्नै शैली हो। संगीत सुनाउने, मानिससँग जोडिने र त्यसबाट प्राप्त हुने स्वेच्छिक सहयोगकै भरमा उनले विश्व यात्रा गरिरहेकी छन्।
विदेशी देख्नेबित्तिकै उनीहरू आर्थिक रूपमा सम्पन्न हुन्छन् भन्ने आमधारणा रहेको नेपाली समाजमा यो दृश्यले फरक सन्देश दिएको छ । सबैले आर्थिक अभावका कारण मात्र माग्ने गर्दैनन्, कतिपयले आफ्नो यात्रा र जीवनशैलीकै एक भागका रूपमा पनि यस्तो अभ्यास अपनाउने गरेका हुन्छन् ।
Facebook Comments