संसदमा कालो चश्मा निषेध, मर्यादित पोशाक र संसदको लोगो अनिवार्य
नियम मिच्ने सांसद गेटबाटै आउट
मेयरसाप डेस्क
|
२०८३ साउन २१ गते १४:२१
अब संघीय संसदमा सांसदहरूको व्यवहार र उपस्थितिमा कडाइ हुने भएको छ। संसद बैठकलाई थप मर्यादित, अनुशासित र प्रभावकारी बनाउन सभामुख डोलप्रसाद अर्यालले सांसदका लागि नयाँ आचारसंहिता लागू गर्ने तयारी गरेका छन्।
नयाँ व्यवस्थाअनुसार अब संसद बैठकमा कालो चश्मा लगाउन पाइने छैन, मर्यादित पोशाक र संसदको लोगो अनिवार्य हुनेछ भने बैठक चलिरहेका बेला अत्यावश्यक अवस्थाबाहेक बाहिर निस्किन पनि पाइने छैन।
नियम उल्लङ्घन गर्दै कालो चश्मा लगाएर बैठकमा आए सम्बन्धित सांसदलाई बैठकबाटै बाहिर निकाल्ने चेतावनी समेत दिइएको छ। स्वास्थ्यका कारण कालो चश्मा अनिवार्य प्रयोग गर्नुपर्ने सांसदले भने चिकित्सकको सिफारिससहित मेडिकल प्रमाणपत्र पेश गर्नुपर्नेछ।
मर्यादित पोशाक, कोट वा लोगो नलगाई आउने तथा कालो चश्मा लगाएर उपस्थित हुने सांसदलाई प्रवेशद्वारबाटै रोक्ने तयारी छ। त्यसैगरी बैठक चलिरहेका बेला वासरुम, अत्यावश्यक फोन वा स्वास्थ्यसम्बन्धी आवश्यकबाहेक चिया–कफी, खाजा वा अन्य कारण देखाएर बाहिर निस्किन पनि पाइने छैन ।
कार्यव्यवस्था तथा परामर्श समितिको बुधबारको बैठकमा सभामुख अर्यालले सबै दललाई आफ्ना सांसदलाई नयाँ नियमका लागि तयार गराउन निर्देशन दिएका छन्। उपसभामुख रुबीकुमारी ठाकुरका अनुसार प्रतिनिधिसभाको नयाँ भवनबाट यी नियम कडाइका साथ लागू गरिनेछ।
संसद सचिवालयका अनुसार हाल केही मन्त्री र सांसदहरू बैठकमा कालो चश्मा लगाउने तथा लोगोबिना सहभागी हुने गरेका छन्। पोशाकको सन्दर्भमा समेत सबै सांसद मर्यादित नभएको देखिन्छ । विशेष गरेर प्रधानमन्त्री बालेन शाहकै पोशाकका विषयमा अर्मायादित भएको टिकाटिप्पणी हुने गरेको छ । अब भने यस्तो अभ्यासमा पूर्ण रोक लगाउने सभामुख अर्यालको तयारी छ। यो नियमको परिधिमा प्रधानमन्त्री बालेन शाह पनि पर्ने देखिन्छ । नियमित कालोचश्मा लगाउने र संसदमा मर्यादित पोशाकमा देखिएको आलोचना खेपिरहेका प्रधानमन्त्री बालेनले अब नयाँ आचारसंहिता पालना गर्छन कि गर्दैनन् भन्ने आम चासो समेत बढेको छ ।
Facebook Comments