एआईको प्रभावः विकसित देशमा ३३ प्रतिशतको जागिर चैट, नेपालमा कस्तो छ असर? (भिडियोसहित)
मेयरसाप डेस्क
|
२०८३ साउन २२ गते १३:०१
कृत्रिम बुद्धिमत्ता अर्थात् एआईले संसारभर काम गर्ने तरिका बदलिरहेको छ। विकसित देशमा एआइले एकतिहाइ मानिसका जागिर प्रभावित गरेको छ भने कतै एआईकै कारण काम झन् छिटो र प्रभावकारी पनि बन्दै गएको छ। यस्तो अवस्थामा नेपालका युवाको भविष्य कता जाँदैछ? जागिर गुम्ने हो कि नयाँ अवसर खुल्ने हो? विश्व बैंकले यी प्रश्नको उत्तर खोज्दै ’विश्व विकास प्रतिवेदन २०२६ ः द प्रमिस अफ आर्टिफिसियल इन्टेलिजेन्स’ सार्वजनिक गरेको छ। आउनुस् यसबारे बुझौं ।
विश्व बैंकको यो प्रतिवेदन अनुसार नेपालजस्ता न्यून आय भएका देशमा तत्काल ठूलो रोजगारी संकट आउने सम्भावना कमै भएपनि चुनौती भने थपिएको छ । विकसित देशमा करिब एक तिहाइ अर्थात ३३ प्रतिशत भन्दा बढी रोजगारी एआईबाट प्रभावित हुन सक्ने अनुमान गरिए पनि नेपाल जस्ता विकाशील न्यून आय भएका देशमा यस्तो जोखिम करिब १० प्रतिशत मात्रै रहेको प्रतिवेदनले देखाएको छ।
हालको अवस्थामा विकसित देशमा १४.२ प्रतिशत रोजगारी एआईबाट पूर्ति गरिएको देखिन्छ भने नेपाल जस्ता विकासशील देशमा एआईबाट४.५ प्रतिशत मात्र रोजगारी पूर्ति गरिएको छ ।
यसको मुख्य कारण, नेपाल जस्ता देशका अधिकांश मानिस अझै पनि कृषि, निर्माण, साना व्यवसाय र शारीरिक श्रममा आधारित काममा संलग्न हुनु हो, जहाँ एआईले तत्काल मानिसलाई प्रतिस्थापन गर्न सक्दैन।
तर यसको अर्थ नेपाल सुरक्षित छ भन्ने होइन। सूचना प्रविधि, फ्रिलान्सिङ, डेटा प्रोसेसिङ, ट्रान्सक्रिप्सन, कन्टेन्ट मोडरेसन, कल सेन्टर र प्रारम्भिक तहका सफ्टवेयर विकासजस्ता क्षेत्रमा एआईको प्रभाव तीव्र रूपमा देखिन थालेको छ। प्रतिवेदनअनुसार च्याटजिपिटी सार्वजनिक भएपछि दक्षिण एसियामा नयाँ रोजगारीका विज्ञापन घटेका छन् भने एआईले गर्न सक्ने आउटसोर्सिङका काममा पनि उल्लेखनीय रुपमा कमी आएको छ।
दक्षिण एसियामा च्याटजिपिटी सार्वजनिक भएपछि नयाँ रोजगारीका विज्ञापन १.६ प्रतिशतले घटेका छन् भने बौद्धिक तथा कार्यालयमुखी रोजगारीको माग करिब २० प्रतिशतले खस्किएको छ।
एआईले गर्न सक्ने हुँदा आउटसोर्सिङका काम सन् २०२५ मा ३९ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।
यसले डिजिटल सेवामा निर्भर नेपाली युवाका लागि चुनौती थपिएको संकेत गर्छ। यद्यपि, प्रतिवेदनले अर्को सकारात्मक पक्ष पनि देखाएको छ। एआईले धेरै जागिर समाप्त गर्नेभन्दा कर्मचारीको क्षमता बढाउने सम्भावना बढी रहेको उल्लेख गरिएको छ। प्रतिवेदनका अनुसार विकासशील देशका हरेक ६ मध्ये १ अर्थात् १६.२ प्रतिशत रोजगारी एआईका कारण विस्थापित नभइ बरु काम गर्ने क्षमता बढ्नेछ।
विशेषगरी स्वास्थ्य, शिक्षा, कृषि र सार्वजनिक सेवामा एआईले निर्णय क्षमता, उत्पादकत्व र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सक्छ।
विश्व बैंक र सूचना प्रविधि क्षेत्रका विज्ञहरूको एउटै सुझाव छ—नेपालले समयमै डिजिटल पूर्वाधार, भरपर्दो विद्युत, गुणस्तरीय इन्टरनेट र सीप विकासमा लगानी गर्न सके एआई चुनौती मात्र होइन, ठूलो अवसर पनि बन्न सक्छ। विश्व बैंकले यसलाई ’एनालग फाउन्डेसन’ भनेको छ। यही आधार बलियो नभएसम्म एआईबाट अपेक्षित लाभ लिन नसकिने प्रतिवेदनमा उल्लेख छ। परिवर्तनसँगै आफूलाई अद्यावधिक गर्न नसक्ने व्यक्ति र संस्था भने पछाडि पर्ने जोखिम बढ्दै गएको छ।
त्यसैले प्रश्न अब एआईले जागिर खोस्छ कि खोस्दैन भन्ने होइन। प्रश्न हो—एआईसँगै काम गर्न हामी कति तयार छौं?
Facebook Comments