ढलमा पोलियो भाइरस देखिएपछि काठमाडौं महानगरले भोलीदेखि विशेष खोप अभियान सुरू गर्दै
हालै ढलमा पोलियो भाइरस भेटिएपछि काठमाडौँ महानगरले यही साउन ९ गतेबाट विशेष पोलियो खोप अभियान सुरू गर्ने भएको हो ।
Mayorsap
मंगल, साउन ८, २०८१ | ०२:५२ बजे
काठमाडौँ महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान सुरू गर्ने भएको छ ।
हालै ढलमा पोलियो भाइरस भेटिएपछि काठमाडौँ महानगरले यही साउन ९ गतेबाट विशेष पोलियो खोप अभियान सुरू गर्ने भएको हो । यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन महानगरले जनाएको छ ।
महानगरका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठकानुसार महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीसहितको टोलीले घर घरमा गएर पोलियो थोपा खुवाउने छ। पोलियो खोप छ, १० र १४ हप्ता गरी तीन पटक मुखबाट (ओरल पोलियो भ्याक्सिनं) खुवाइन्छ । यस्तै १४ हप्ता र नौ महिनाको उमेरमा सुइबाट पोलियो खोप दिइन्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौँ महानगरपालिकाभित्र दुई लाख ३८ हजार नौ सय ६६ घर छन् । यी घरहरूमा पाँच वर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको महानगरको अनुमान छ । विभागको तथ्याङ्कमा वडागत रूपमा हेर्दा सबैभन्दा धेरै वडा नं ६ मा छ हजार १२ जना बालबालिका छन् भने सबैभन्दा कम वडा नं १ मा चार सय ६२ जना छन् ।