नाम्खा गाउँपालिका–६को जाङगाउँभरि दुई वटा घर
गाउँलेहरू बसाइँ सरेर काठमाडौँ तथा अन्यत्र गएपछि लिमीकै दोस्रो ठुलो गाउँ जाङमा हाल दुई वटा घर मात्रै छन् ।

Mayorsap
बुध, साउन २३, २०८१ | ०५:२१ बजे

नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको जाङगाउँमा दुई घरधुरी मात्र रहेका छन् ।
गाउँलेहरू बसाइँ सरेर काठमाडौँ तथा अन्यत्र गएपछि लिमीकै दोस्रो ठुलो गाउँ जाङमा हाल दुई वटा घर मात्रै छन् । गत वर्षसम्म १२ घरधुरी रहे पनि यस वर्ष दुई घर मात्रै रहेको छ ।
गाउँमा किसानी गरेर बाहै्र महिना खान लाउन नपुग्ने भएपछि चीनको ताक्लाकोटमा गएर काम गर्नुपर्ने वा व्यापार गर्न काठमाडौँ र भारततर्फ जानुपर्ने भएपछि यहाँका बासिन्दाले गाउँ छाड्दै गएका हुन् ।
हाल सो गाउँमा रहेका दुई घरमा पनि ज्येष्ठ नागरिक मात्रै बस्ने गरेका छन् । लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीमा तीन वटा गाउँ रहेकोमा तीन गाउँमध्ये अन्य हुने खाने व्यक्तिको बाहुल्य भएकाले यहाँका बासिन्दा गाउँ छोडी बसाइँ सरिसकेका छन । गाउँमा खानेपानी, विद्युत्, सिँचाइ र सडकसमेत पुगेको छ तर स्थानीयको गाउँ छाड्ने क्रम भने रोकिएकोे छैन ।
गाउँ छाड्ने बढेपछि उक्त गाउँको भृकुटी प्रावि गत वर्ष बन्द हुँदा त्यहाँका शिक्षकलाई गाउँपालिकाले अन्यत्र व्यवस्था गरेको थियो ।