काठमाडौँ महानगरले माछा र मासु व्यवसायीलाई दियाे स्वच्छता तालिम
काठमाडौँ महानगरपालिकाले माछा र मासुजन्य खाद्य वस्तुको स्वच्छताका लागि व्यवसायीलाई १ दिने क्षमता विकास तालिम प्रदान गरेको छ।
Mayorsap
सोम, असोज ७, २०८१ | १०:२७ बजे
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माछा र मासुजन्य खाद्य वस्तुको स्वच्छताका लागि व्यवसायीलाई १ दिने क्षमता विकास तालिम प्रदान गरेको छ।
शनिबार आयोजित तालिममा थोक तथा खुद्रा माछा-मासु विक्रेता, पशु वधशालाका कर्मचारी, र मासु प्रशोधन गर्ने व्यवसायीहरूले भाग लिएका थिए।
‘स्वच्छ भान्छा’ स्वर्णिम योजनाअन्तर्गत खाद्य स्वच्छता प्रवर्द्धन तथा प्रमाणीकरणका लागि सञ्चालित यस कार्यक्रमले खाद्य सेवा क्षेत्रमा आबद्ध जनशक्तिलाई स्वच्छता सम्बन्धी ज्ञान र सीप प्रदान गर्ने उद्देश्य राखेको छ। तालिममा ३२१ व्यवसायी सहभागी भए, जसमा माछा व्यवसायी, कुखुरा, खसी, राँगा, र बुंगुरको मासु व्यवसायी तथा प्रशोधित मासु उद्योगका प्रतिनिधिहरू थिए।
तालिमका क्रममा मासुको स्वच्छता, मासु जाँच, पशु बधशाला ऐन, मासुजन्य पदार्थ उत्पादन तथा वितरण निर्देशिका, व्यवसायीको आचरण र जनस्वास्थ्य सम्बन्धी समस्या लगायत विषयमा छलफल र कार्यपत्र प्रस्तुति गरिएको थियो। साथै, जुनोटिक रोग, मासुजन्य खाद्य पदार्थका जोखिम, सरसफाइ मापदण्ड र कानुनी व्यवस्थाबारे पनि अन्तरक्रियात्मक छलफल गरिएको थियो।
महानगरपालिकाले यस तालिमपछि व्यवसायीको कामको मूल्याङ्कन, प्रमाणीकरण, र स्तरीकरण गर्ने योजना समेत अगाडि सारेको छ, जसले उपभोक्तालाई सुरक्षित र स्वच्छ मासुजन्य खाद्य पदार्थको सुनिश्चितता प्रदान गर्नेछ।