मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

धरान उपमहानगरपालिका

पहिरो

भरतपुर महानगरपालिका

काभ्रेपलाञ्चोकका तीन गाउँपालिकामा बिजुली बाल्ने प्रयास

Mayorsap

बुध, असोज २३, २०८१ | १८:४९ बजे

काभ्रेपलाञ्चोक, २३ असोज : यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय बनेका काभ्रेपलाञ्चोकका तीन गाउँपालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास भइरहेको छ । वर्षापछि आएको बाढीपहिरोले सडक अवरुद्ध हुनुका साथै बिजुलीका पोल, ट्रान्सफर्मरलगायत संरचना बगाउँदा महाभारत, बेथानचोक र रोशी गाउँपालिका अन्धकारमय छन् ।     
     
बेथानचोक र रोशी गाउँपालिकाको केही वडामा विद्युत्को काम भइरहेको नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीले बताउनुभयो । खानीखोला गाउँपालिकाबाट महाभारत गाउँपालिकामा बिजुली लैजाने प्रयास भइरहेको उहाँले बताउनुभयो । खानीखोलाबाट बिजुली लैजान सकिए महाभारतको केही क्षेत्रमा बिजुली बत्ती बाल्न सकिने सम्भावना छ ।     
     
रोशी गाउँपालिका–२, ३, ५ र ७ तथा गाउँपालिका कार्यालयसम्म भने बिजुली ल्याउन सकिने सम्भावना छ । सडक सञ्जाल नै अवरुद्ध हुँदा बेथानचोक, महाभारत र रोशीका अधिकांश स्थान बिजुलीबिहीन भएका हुन् ।     
     
महाभारत गाउँपालिकामा बाढीपहिरोले सडक अवरुद्धका साथै पोल, ट्रान्सफर्मरलगायत संरचना बगाउँदा तीन हजार एक सय ७४ परिवार बिजुलीविहीन अवस्थामा रहेका छन् । रोशी खोलाले गाउँपालिका जोड्ने विभिन्न स्थानमा बाटो नै बगाएपछि बिजुली सञ्चालन गर्न समस्या भएको अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । उहाँका अनुसार सडक मर्मत एवं पुनःनिर्माण भएपछि मात्रै बिजुली बाल्न सकिने छ ।     
     
“प्राधिकरणका अनुसार दसैँअघि बिजुली आउने सम्भावना छैन्, दसैँ अन्धकारमै बित्ने भयो”, अध्यक्ष जिम्बाले भन्नुभयो । सडक बनाउन पनि अझै केही दिन लाग्ने उहाँ बताउनुहुन्छ ।     
     
बिजुली नहुँदा उक्त गाउँपालिकामा आंशिक सञ्चार सम्पर्कविच्छेद भएको छ । दुई दिनअघि सोलारबाट मोबाइलको टावर सञ्चालनमा ल्याए पनि फेरी समस्या आएको छ । गाउँपालिकाभर पानी, बत्ती र सडक सुविधा नभएको अध्यक्ष जिम्बाले बताउनुभयो । उहाँले भन्नुभयो “गाउँपालिका जोड्ने सिपाली सडक रोशी खोलाले नै बगाएको छ , भौगोलिक प्रतिकूलताका कारण पुनः ट्र्याक खोल्न निकै कठिनाइ भइरहेको छ ।”     
     
पनौती नगरपालिकाको केही वडामा बाढीपहिरोले विद्युत्मा क्षति पु¥याएकाले मर्मतकार्य भइरहेको जनाइएको छ । पनौती–१२ खोपासीस्थित पनौती जलविद्युत् आयोजनामा क्षति पुग्दा बिजुली उत्पादन रोकिएको छ । पहिरोसँगै आएको बाढी तथा लेदोले पावर हाउसभित्रका तीन टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिएस प्रणालीलगायतका उपकरण डुबेका कारण यही असोज १२ गतेदेखिनै बिजुली उत्पादन रोकिएको हो । पनौती जलविद्युत् केन्द्रका प्रमुख सविना उप्रेतीले बाँधबाट पावरहाउससम्मको कुलोमा विभिन्न स्थानमा पहिरोका कारण क्षति पुगेको जानकारी दिनुभयो । पावरहाउसको दुवैतर्फबाट पहिरो आएको छ ।     
     
“आयोजनाको सरसफाइ बाँकी छ, अब दसैँपछि सुरु गरिनेछ”, उहाँले भन्नुभयो । पानीको मुहानमा पनौती–८ मल्पीस्थित रोशी खोलामा आएको बाढीले क्षति पुगेको छ । उक्त केन्द्रको तीन टर्वाइनमध्ये दुईवटाबाट मात्रै बिजुली उत्पादन हुँदै आएको थियो । सरकारले घोषणा गरेको ‘विपद् सङ्कटग्रस्त क्षेत्र’का रुपमा काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका छन् ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology