प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो ।
Mayorsap
बिही, कार्तिक १, २०८१ | १२:१२ बजे
काठमाडौँ, १ कात्तिक । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो । गएको असोजमा बाढी तथा वर्षाले पुर्याएको क्षतिको पुनर्निर्माणका लागि सरकारको दैवी प्रकोपमा विभिन्न संस्था तथा व्यक्तिले सहयोग गरिरहेका छन् । त्यहाँ जम्मा भएको रकले स्थानीय तहहरुमा भएको क्षतिको पुनर्निर्माण गर्ने सरकारको तयारी छ ।
कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनले रु ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले रु ५१ लाख तथा राष्ट्रिय समाचार समितिले रु तीन लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन् ।
यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन् ।