मेयरबाट एम्बुलेन्स सञ्चालनको मौखिक निर्देशन कुर्दा कुर्दै गयो दिलबहादुरको ज्यान
मृत्युभएपछि सम्झाइबुझाई गर्न आएका मेयरलाई दिलबहादुरकी श्रीमतीले गरिन् हातपात
आरसी
शुक्र, कार्तिक ९, २०८१ | १३:१५ बजे
धनुकुटा, कात्तिक ९: चौदण्डीगढी नगरपालिकामा रहेको आधारभूत अस्पताल बेल्टारमा गएको बुधबार एम्बुलेन्स कुर्दाकुर्दै दिलबहादुर मगरको ज्यान गयो ।
अस्पताल प्रशासनका अनुसार ४६ वर्षका दिलबहादुरलाई बिहान ७ बजेर १०–१५ मिनेटको अन्तरालमा अस्पताल भर्ना गराइएको थियो । आँखा नदेख्ने दिलबहादुरले उपचारमा अरुको सहयोग लिनुपर्ने बाध्यता थियो । उनकी श्रीमती कमला साह मगर पनि आँखा नदेख्ने छिन् । सुगर, प्रेसर र दम रोगबाट ग्रसित मगरलाई अस्पतालमा उपचार गर्न सक्ने स्रोतसाधन नभएपछि अस्पतालले बिहान ७ बजेर २३ मिनेटमै सुविधासम्पन्न अस्पताल लैजान रिफर गर्यो ।
अस्पताल प्रशासनका अनुसार मृतकका परिवार आर्थिक रुपमा कमजोर हुनका साथै अपाङ्ग पनि छन् । उनीहरुले नयाँ एम्बुलेन्स बोलाउन सकेनन् । चौदण्डीगढी नगरपालिकाको एम्बुलेन्स र आधारभूत अस्पताल बेल्टारको एम्बुलेन्सले नै उनीहरुलाई अस्पताल पुर्याइदिने आशामा पीडित परिवार बसिरहे । तर अस्पतालको एम्बुलेन्स पनि बिरामी बोकेर अन्तै गएको र नगरपालिकाको एम्बुलेन्स आइपुग्न नगरप्रमुखको मौखिम निर्देशन आवश्यक हुने हुँदा उनीहरुले बिरामी लैजाने एम्बुलेन्स पाएनन् ।
अस्पताल प्रशासन प्रमुख मोहन सुवेदीका अनुसार आधारभूत अस्पताल बेल्टारमा एम्बुलेन्स भएको भएपनि उनीहरुलाई अस्पतालले नै अन्य सुविधासम्पन्न अस्पताल लगिदिन्थ्यो । ‘उनीहरुको अवस्थाबारे हामी जानकार थियौं । हाम्रोमा एम्बुलेन्स भएको भए पनि नगरप्रमुखको निर्देशन नभए पनि हामी अन्य अस्पताल लगिदिन्थ्यौं’, सुवेदीले भने, ‘तर एम्बुलेन्स बिरामी पुर्याउन गएको थियो ।’ त्यसबेला अस्पतालको एम्बुलेन्स बिरामी बोकेर अन्तै गएको थियो । नगरपालिकाले विपन्न र गरिब नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएकाले उनीहरु नगरपालिकाको एम्बुलेन्स कुरेर बसे ।
बिहानको नौ बजेर ३० मिनेट जाँदा पनि अस्पतालमा नगरको एम्बुलेन्स बिरामी लिन आएन । अस्पताल प्रशासनका अनुसार बिहान १० बजेतिर दिलबहादुरले देह त्याग गरे । केहीबेरपछि दिलबहादुरको मृत्यु भएको विषय पालिकाभर फैलियो ।
नगरप्रमुख कुलमान लामाले पनि यो जानकारी थाहा पाए । उनी कार्यालय पुगेर १२ बजेतिर मृतकका परिवारलाई सम्झाउन भन्दै अस्पताल आइपुगे । नगरप्रमुख लामाले फोन सम्बादमा हामीलाई भने, ‘मलाई एम्बुलेन्स पठाइदिनु भनेर फोन आएको केही मिनेटपछि दिलबहादुरको मृत्यु भइसकेको रहेछ । उनको अवस्था पहिल्यै नाजुक रहेको थियो । अस्पतालमा एम्बुलेन्स पुग्दा उनको मृत्यु भइसकेको थियो ।’
पालिकाको फ्रि एम्बुलेन्स सेवा लिन वडा अध्यक्षलाई खबर गरेपछि वडा अध्यक्षको सिफारिमा नगरप्रमुखले मौखिक निर्देशन दिएपछि मात्रै सेवा पाइने रहेछ । दिलबहादुरको परिवार वडा नम्बर ४ का बासिन्दा हुन् । हुन त मेयर आफैँ वडा नम्बर ४ का बासिन्दा हुन् । उनीहरुलाई सहयोग गर्ने व्यक्तिले वडा नम्बर ४ का अध्यक्षलाई फोन गर्नुको सट्टा अन्य वडा अध्यक्षमार्फत नगरप्रमुखलाई जानकारी गराउन लगाएकाले आफूलाई सूचना आउन ढिला भएको मेयर लामाले जानकारी दिए । नगरप्रमुख लामाका अनुसार फोन गर्ने व्यक्ति वडा नम्बर ४ का वडाअध्यक्षका प्रतिस्पर्धी डम्बरबहादुर मगर थिए ।
हामीले वडा नम्बर ४ का अध्यक्ष भक्तिराज राईलाई सम्पर्क गर्यौं । उनले भने, ‘बिरामीका भिनाजुकाअनुसार बिरामीलाई बिहान पाँच बजे अस्पताल पुर्याइएको रहेछ । बिरामी बेहोस अवस्थामा अस्पताल पर्याइए पनि अस्पतालमा होस् आएको र बोलेको जानकारी पनि पाएँ । अस्पतालले रिफर गरेपछि निशुःल्क एम्बुलेन्सको सेवा लिन वडा अध्यक्षको सिफारिश चाहिन्छ । पीडित परिवारलाई सहयोग गर्ने बिरामीका आफन्त डम्बरबहादुर मगर मेरो प्रतिस्पर्धी हुनुहुन्थ्यो । उहाँले मलाई फोन गर्नुको सट्टा अन्य वडाका अध्यक्ष र मेयरसापलाई फोन गर्नुभएछ । अनि समयमै एम्बुलेन्स नपुग्दा उहाँको बिहान साँढे १० बजेतिर मृत्यु भएछ ।’
वडा अध्यक्ष राईले पालिकाको एम्बुलेन्स सेवा लिन वडा अध्यक्षकाे फिसारिश र मेयरको मौखिक निर्देशनले मात्रै काम गर्ने बताए । ‘मेयरलाई पनि सबैकुरा थाहा हुँदैन । पालिकाभरका मान्छेको अवस्था जानकारी हुने कुरा भएन । वडा अध्यक्षमार्फत सिफारिस हुँदा काम हुन्थ्यो । मेयरलाई मात्रै फोन गर्दा वडाले सिफारिश नगरेको व्यक्ति विपन्न वा गरिब हो वा होइन कसरी थाहा हुन्छ त ?’, राईले भने, ‘मलाई थोरै जानकारी आएको भए म आफैँ अस्पताल पुगेर बिरामीको उपचार गराउँथेँ ।’
मेयर लामा अस्पताल प्रशासन पुग्दा मृतकका परिवार रोइरहेको अवस्थामा थिए । लामाले मृतककी श्रीमती कमला साह मगरलाई सम्झाउन खोजे । तर शोकको अवस्थामा रहेकी आँखा नदेख्ने पनि समस्या भएकी कमलाले एक्कासी मेयरमाथि रुँदै झम्टिइन् । सार्वजनिक भिडियोहरुमा पनि मेयर लामा पीडित कमलाको छेउमा गएर सम्झाउन खोजिरहेको देखिन्छ । त्यही बेला कमला एक्कासी आक्रोशित हुँदै मेयर लामामाथि झम्टिन्छिन् । नगर प्रहरीहरुले कमलालाई बल प्रयोग गरेर हटाउँछन् । मेयर केही पर तर्किन्छन् ।
हामीले मेयरलाई नै के भएको हो त्यहाँ भनेर सोधेका थियौं । मेयर लामाले भने, ‘पहिले नै अरु व्यक्तिहरुले कमलालाई गलत जानकारी दिएर उत्तेजित पारेका रहेछन् । उनी आँखा नदेख्ने मान्छे, म छेउमै गएर सम्झाउन खोज्दा बोलेको आधारमा ममाथि कमलाले हातपात गरिन् । मैले पीडित परिवारप्रति उक्त घटनामा अन्यथा लिएको छैन । उनलाई भड्काउने मान्छेको चाहिँ गल्ती हो । समाजमा यस्तो काम गर्नु नहुने हो । खै, किन यस्तो काम गर्छन ।’
अस्पताल प्रशासनले समयमै एम्बुलेन्स उपलब्ध नगराएको भन्दै मृतकका आफन्तजन नगर प्रमुख लामाप्रति आक्रोशित भएका हुन् । लामा त्यही झाेंकमा दुर्व्यवहारमा परेकाे देखिन्छ । दिलबहादुरलाई शरीरमा सुगरको मात्रा एक्कासी कम भएर ‘हाईपो ग्लासमिक सक विथ काडियो पल्मोनरी एरेस्ट’ भएपछि उनको ज्यान गएको अस्पताल बेल्टारका डाक्टर अमृत कर्णले जानकारी दिए ।
अस्पतालमा समयमै एम्बुलेन्स नआएपछि दिलबहादुरलाई बाहिर लैजान नसकिएकोले उनको मृत्यु भएको तथ्यले देखाउँछ । उपलब्ध डाक्टर र अन्य कर्मचारीले उपचारमा सक्दो प्रयास गरेको भएता पनि समयमै एम्बुलेन्स उपलब्ध नभएको कारण आफूले श्रीमान गुमाएको भन्दै कमलाले पीडि सुनाइन् ।]
समयमै एम्बुलेन्स उपलब्ध गराउन नसकेकोमा नगरप्रमुख लामाले कमजोरी स्वीकारे पनि उनी हामीसँगको सम्बादमा भने केही आक्रोशित मुद्रामा प्रस्तुत हुन खोजेका थिए । हामीले उनलाई नागरिकका प्रश्नहरु सोध्दा आक्रोशित नहुन अनुरोध गरेसँगै उनी केही सम्हालिएका थिए । कमजोरी स्वीकार गरेका मेयर लामाले मृतकको परिवारलाई राहत उपलब्ध गराउने उद्घोष गरे । उनकाअनुसार मृतकका एक जना छोरीलाई जागिर, दुई जना छोरीलाई निःशुल्क स्नातक तहसम्मको पठनपाठनको व्यवस्था र क्रिया खर्च ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय नगरपालिकाले गरको छ ।
चौदण्डीगढी नगरपालिकाले विपन्न बर्गका नागरिक, सुत्केरी र जटिल बिरामी भएमा नगरबासीलाई सदरमुकाम गाईघाटसम्म, नगरभरी तथा धरान, विराटनगरलगायतका नगरबाहिरका स्थानमा लैजान एम्बुलेन्स सेवा दिने गरेको छ । तर विपन्न नागरिकलाई दिने नि:शुल्क एम्बुलेन्सको सुविधा लिन भने वडा अध्यक्षको सिफारिसमा नगर प्रमुखको आदेश चाहिन्छ । नगरपालिकाले एउटा एम्बुलेस संचालन गर्दै आएको छ भने एउटा एम्बुलेन्स आधारभूत नगर अस्पताल बेल्टारले पनि सञ्चालन गरिरहेको छ ।
नगरपालिकाले बिहीबार साँझ एक बिज्ञप्ति जारी गर्दै मगरको मृत्यु पश्चात मृतकको परिवारलाई सान्तवना दिन नगर प्रमुख कालमान लामा आधारभूत नगर अस्पतालमा उपस्थित हुँदा घटनालाई उत्तेजित पारी नगर प्रमुख माथि हातपात भएको विषयमा पालिकाले खेद प्रकट गरेको जनाइएकाे छ ।
‘दुःखद घटनालाई राजनीतिकरण गराउन खोज्नुलाई नगरपालिकाले गम्भीर रुपमा लिएको’ विज्ञप्तिमा जनाइएको छ । पालिकाले एम्बुलेन्स सञ्चालनकाे नीति बनाउने पनि प्रतिवद्धता जनाएकाे छ ।