उपविजेता बनेकाे महिला फुटबल टोलीलाई काठमाडौं महानगरको दियाे २५ लाख
Mayorsap
बिही, कार्तिक १५, २०८१ | ०८:२२ बजे
काठमाडौं- काठमाडौं महानगरपालिकाले महिला साफ च्याम्पियनसिपमा उप विजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले खेल सकिनेवित्तिकै राष्ट्रिय टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई बुधवार २५ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्।
दशरथ रंगशालामा बुधवार भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो। अघिल्लो संस्करणमा पनि नेपाल बंगालादेशसँगै पराजित भएको थियो।
नेपालले साफ च्याम्पियनसिपमा ६ पटक फाइनल खेलिसक्दा पनि च्याम्पियन बन्न सकेको छैन।
काठमाडौं महानगरले यसअघि पारालिम्पककी रजत पदक विजेता पलेशा गोवर्धनलाई ५ लाख र काभा नेसन्स लिगमा रजत पदक विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीलाई जनही १ लाख रुपैयाँ नगदसहित सम्मान गरेको थियो।