जनप्रतिनिधिको विवादले धनगढीमाई नगरपालिका अस्तव्यस्तः मेयर र प्रमुख प्रशासकीय विरुद्ध १९ नगरसभा सदस्य
बहुसंख्यक नगरसभा सदस्यले बिथोले बैठक, कार्यान्वयनमा थपियो चुनौति
आरसी/ मुकेशकुमार यादव
सोम, मंसिर ३, २०८१ | १५:०७ बजे
सिराहा, मंसिर ३ः नीति तथा कार्यक्रमसँगै बजेट पास गरेर कार्यान्वयनमा लगेको धनगढीमाई नगरपालिका फरक फरक स्वार्थ भएका जनप्रतिनिधिको कारण विवादमा फस्दै गएको छ ।
नागरिकलाई सेवा सुविधा दिएर स्थानीय तहको विकासमा केन्द्रीत हुनुको सट्टा योजनाहरु आफ्ना पक्षमा नपारिएको ‘बखेडा’ झिक्दै पालिकाका काम प्रभावित पार्न जनप्रतिनिधिहरु नै लागेका छन् ।
नगरसभामा कर्मचारीहरुविरुद्ध ‘दुव्र्यवहार’ गर्ने, नीति तथा कार्यक्रमको बिरोध गर्ने तथा योजनाहरुको कार्यान्वयन गर्न नदिने भन्दै जनप्रतिनिधिहरुबीच विवाद बढ्दा पालिकाले गर्नुपर्ने काम रोकिएको छ ।
कार्यालयमा मेयर शिवशंकर महत्तो र प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीको उपस्थिति हुन छाडेको छ । १४ वटा वडा रहेको पालिकामा उपप्रमुख संगिताकुमारी चौधरीसहित १० जना वडाअध्यक्ष मेयर शिवशंकर महत्तो र प्रमुख प्रशासकीय अधिकृतको विरुद्धमा रहेका छन् । पालिकामा २४ जना नगरसभा सदस्य रहेका छन् । त्यसमध्ये १९ जना नगरसभा सदस्यले मेयर महत्तो र प्रमुख प्रशासकीय अधिकृतले मिलेर सर्वसम्मतले पारित गरेको नीति तथा कार्यक्रमहरुमा केही फेरबदल गरेको आरोप लगाएका छन् ।
स्थानीय राजपत्रमा प्रकाशित गरेका योजनाहरु माग गर्दै गएको कात्तिक ७ गते १९ जना वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृतविरुद्ध दुव्र्यवहार समेत गरेको नगरका प्रवक्ता तथा वडा १२ का अध्यक्ष जयप्रकाश ठाकुरले बताए । दुव्र्यबहार गर्नेमा वडा नम्बर १, ४ तथा ९ का अध्यक्षहरु रहेको जानकारी प्राप्त भएको छ । तर वडा नम्बर ४ का वडा अध्यक्ष ओम प्रकाश यादवले भने आफूले नगरसभामा मेयर र प्रमुख प्रशासकीय अधिकृत मिलेर बिगारेको योजनाहरुको विषयमा पहिलो छलफल हुनुपर्ने माग गरेको तर त्यस्तो नभएपछि नगरसभा भाँडिएको बताए । ४ नम्बरका वडा अध्यक्ष यादवले नगर सभाबाट सर्वसम्मत पारित गरेको बजेट तथा कार्यक्रमलाई लत्याउँदै प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरीत योजना राखेको तथा बजेटमा समेत परिवर्तन गरेको आरोप लगाएका छन् । यादवलगायत १९ जना नगरसभा सदस्यहरुले थपघट गरिएको योजना तथा बजेटबारे छानविनको माग गर्दै संयुक्त प्रेस विज्ञप्ति पनि जारी गरेका छन् ।
नगरसभाले सर्वसम्मत पास गरेको नीति तथा कार्यक्रम नै हुबहु प्रमाणित भई कार्यान्वयनमा गएको दाबी गरेका मेयर महत्तोले आफूहरुले पनि प्रेस विज्ञप्ति जारी गर्ने बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत माधवेनद्र चौधरी कात्तिक ८ गतेबाट कार्यालय गएका छैनन् । उनले निमित्तको जिम्मेवारी पनि कानून मिचेर दिएको आरोप लागेको छ । अधिकृत चौधरीले भने पालिकाको विवादको विषयमा मेयरको पक्षबाट प्रेस विज्ञप्ति नै जारी हुने भएकाले आफूले केही जानकारी नदिने बताए ।
नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले नगरसभाले पास गरेको बजेट तथा कार्यक्रमलाई थप परिमार्जन गरी नगर प्रमुखले प्रमाणित गरी कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहामा बुझाई सूत्रमा ईन्ट्री गरेकाे आरोप लागेको छ । मेयर पक्षले भने नगरसभाले नै पारित गरेको नीति तथा कार्यक्रम नै सूत्र सफ्टवयरमा इन्ट्री भएको दाबी गरेको छ ।
बहुसंख्यक नगरसभा सदस्यहरुले नगरसभाले पारित गरेको भन्दा फरक बजेट तथा कार्यक्रम प्रमुख प्रशासकिय अधिकृतले हस्ताक्षर गरी नगरपालिकाको आधिकारीक वेबसाईटमा हालेकोले त्यसको तत्काल छानविन हुनुपर्ने माग राखेका छन् । छानबिन नभए आन्दोलनमा जाने १९ जना कार्यपालिका सदस्यहरुको तयारी छ । अधिकृत भने नीति तथा कार्यक्रम पारित गर्दा आफू पालिकामा नभएको र पछि आएकाले नगरसभाले जे पारित गरेको हो त्यही प्रमाणिकरण भएको दाबी गर्छन् ।
मेयर महत्तो पनि यो आरोप स्वीकार्न तयार भएनन् । ‘अहिलेको प्रमुख प्रशासकीय अधिकृतले सिस्टम ल्याउन खोज्दाखेरी उसको विरुद्धमा उसलाई खेद्न धपाउन नचाहिँदो विज्ञप्ति ल्याइएको हो । जे हाम्रो नगरसभाबाट पारित भएको छ, जस्ताको त्यस्तै रातो किताब स्वीकृत भएर कोष तथा लेखा नियन्त्रण कार्यालय गएको छ । यसमा केही हेरफेर छैन । हेरफेर के भयो भने ७० लाख रुपैयाँ हामीले वडामा सिलिङ दिएका थियौं । ५ लाख प्रशासनिक खर्च, ६५ लाख विकास खर्च गरेका थियौं । हिजो सम्झौता गर्दाखेरी ७० लाख नेपाल सरकारबाटै बजेट दिने कुरा भएको थियो । पछि बजेट यताउती हुँदाखेरी २–३ लाख आन्तरिक स्रोतबाट सञ्चालन खर्च राखेका छौं । त्यसको पनि भुक्तानीको सुनिश्चितता म गरिदिन्छु भनेर बैठकमा मैले भनेको छु । अरु केही हेरफेर भएको छैन’, मेयर महत्तोले फोन सम्बादमा बताए ।
नगर प्रमुखले नियतबस नियमित राखिनु पर्ने कार्यापालिका बैठक सुनियोजितरुपमा नराखी महत्वपूर्ण प्रस्ताव र निर्णयहरु रोकेर सेवा प्रवाह, विकासका कार्य, विषयगत शाखाहरुको कामकाज र वडा कार्यालयहरु ठप्प हुने अवस्थामा पुगेको उपमेयर चौधरीलगायत अहिले मेयरको विपक्षमा रहेका नगरसभा सदस्यहरुले बताएका छन् ।
संयुक्त रुपमा जारी विज्ञप्तीमा संघीय सरकारले पठाएको सशर्त बजेटको सेनेटरी प्याड र दिवा खाजा कार्यक्रमलाई कार्यन्वयन गर्न बेवास्ता गरेको, नगरपालिका तथा वडा कार्यालयको अनुदानमा राखिएका शिक्षक/शिक्षिकाहरुको तलब नपठाएको, नगरपालिकाबाट संचालित देशकै एक मात्र योग तथा नेचुरोपेथी कार्यक्रमका शिक्षकहरुको म्याद नथपेको आरोप छ ।
मेयर महत्तोले यी सबै आरोप झुटो भएको दाबी गरे । उनले प्रक्रिया नमिलाएका कारण तलब रोकिएको, लाइसेन्स नभएका शिक्षकहरुलाई नियुक्ति दिएकाले शिक्षकको तलबभत्ता रोकिएको बताएका छन् । ‘...निजी स्रोतको अनुदानको शिक्षकहरुको विषयमा कतिपय व्यवस्थापन समितिले आफ्नो शिक्षकको म्याद नथपेको र कतिपय व्यवस्थापन समितिले नियुक्त गरेको शिक्षकको लाइसेन्स नभएको शिक्षकको मात्रै तलब रोकिएको हो । अरु सबैको भुक्तानी भइसकेको छ’, मेयर महत्तोले भने ।
१९ जना नगरसभा सदस्यहरुले माग पूरा नभए ५ गतेपछि तालाबन्दी गरेर आन्दोलन सुरु गर्ने बताएका छन् । जनप्रतिनिधिहरुको विवाद योजना र बजेट कसले आफ्नो पक्षमा धेरै पार्ने भन्ने विषयमा केन्द्रीत भइरहँदा नागरिकहरुले भने सेवा सुविधा पाउन समस्या झेलिरहेका छन् । विकास निर्माणका काम रोकिएका छन् । नगरका नागरिकमा निराशा छाएको छ ।