क्लक बी बिजनेस इनोभेसन्सले ल्यायाे नेपाल बी प्लेटफर्म, उद्यमीलाई पैसादेखि आइडियासम्म सहयाेग गर्ने
Mayorsap
शनि, मंसिर २२, २०८१ | १७:१५ बजे
काठमाडौं। क्लक बी बिजनेस इनोभेसन्स प्रालिले नेपाल बी प्लेटफर्मकाे उद्घाटन गरेकाे छ । नयाँ उद्यम व्यवसायमा लागेका व्यवसायीका व्यवसाय अभिवृद्धि गर्ने उद्देश्यले नेपाल बीले सहयाेग गर्ने क्लक बी बिजनेस इनोभेसन्सका कार्यकारी निर्देशक विनय देवकोटाले जानकारी दिए ।
"नेपाली व्यवसायलाई अन्तर्राष्ट्रियकरण" भन्ने प्रेरणादायी मन्त्रका साथ युएसएडद्वारा समर्थित नेपाल बी प्लेटफर्म शुक्रबार अनावरण गरिएकाे हाे। यो पहलले नेपाली उद्यमीहरूलाई माथि उठाउन सहयाेग गर्ने अपेक्षा गरिएकाे छ । नेपाली उद्यमीहरूलाई अन्तर्राष्ट्रिय सहयोग प्रदान गर्न, उनीहरूको क्षमता विश्वलाई देखाउन, उत्पादनहरूलाई विश्वव्यापी स्तरमा फस्टाउन नेपाल बी प्लेटफर्मले सहयाेग गर्ने देवकाेटाले जानकारी दिए ।
नेपाली व्यावसायिक क्षेत्रमा वस्तु तथा सेवाका बजार व्यवस्थापनमा देखिएका समस्या पहिचान गरी समाधान गर्दै आएकाे क्लक बी बिजनेसले नेपाल बी मार्फत अहिलेलाई २०० जना उद्यमीलाई बजारमा प्रतिस्पर्धी बनाउन सहयाेग गर्ने उक्त कम्पनीले जनाएकाे छ । २०१८ देखि विभिन्न इभेन्टमार्फत व्यवसायीलाई सहयाेग गर्दै आएकाे क्लक बी बिजनेस इनोभेसन्सले नयाँ तथा स्थापित व्यवसायीलाई व्यवसाय बढाउन रणनीतिक नयाँ सोचसम्बन्धी परामर्श, व्यावसायिक योजनाबारे परामर्श दिने गरेकाे छ ।
अहिले अनावरण गरिएकाे नेपाल बीमार्फत पनि व्यापारिक सञ्जाल निर्माण गर्न, प्रचार प्रसार गर्न, व्यापारिक साझेदार, आपूर्तिकर्ता तथा सुझावकर्ता सङ्गठित गर्न, नयाँ व्यवसाय पहिचान गर्न सघाउ पुग्ने कम्पनीकाे दाबी छ । यस कम्पनीले कृषि, पर्यटन तथा आइसीटी क्षेत्रका उद्यमीहरूलाई सहयाेग गर्दै आइरहेकाे छ । कम्पनीका अनुसार नेपाल बीमा आवद्ध व्यक्ति तथा संस्थालाई पैसा देखि आइडियासम्मकाे सहयाेग दिइन्छ ।