मेयरसाप

सम्पादकीय

श्रमदान

व्यास नगरपालिका

पर्यटन

निस्दी गाउँपालिका

अस्पताल

बागलुङ नगरपालिकाकाको उपहार रायोको साग, अतिथिहरु दंग

आयातित वस्तुलाई मायाको चिनोका रुपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने

Mayorsap

सोम, मंसिर २४, २०८१ | ११:५६ बजे

काठमाडौँ । बागलुङ नगरपालिकाकाको दुर्गम गाउँ रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा कार्यक्रममा आइतवार गज्जवको दृष्य देखिएको छ ।

 

आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका  अतिथि नगरपालिकाको वडा नम्बर ११ लाई वालमैत्री वडा घोषणा गर्न पुगेका थिए ।

 

बालमैत्री वडा घोषणापछि बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रमुख अतिथिसहित कार्यक्रममा पुगेका पाहुनालाई चोयाको डोरीले बाँधेको रायो सागको मुठा मायाको चिनो हातमा थमाए ।

 

कलिलो सागको मुठा पाएपछि अतिथिहरु दंग देखिए । वडा कार्यालयले मायाको चिनोका रुपमा गाउँका किसानले उत्पादन गरेको साग दिएपछि कार्यक्रममा सहभागी सबै खुसी भए ।

 

आयातित वस्तुलाई मायाको चिनोका रुपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको रायो साग कासेलीका रुपमा दिएको वडा अध्यक्ष गौतमले बताए ।

 

वडा नम्बर ११ स्थित रायडाँडा, तमाखुबारी र धारापानीका किसानले उत्पादन गरेको सागलाई खरिद गरी मायाको चिनोको रुपमा दिएको अध्यक्ष गौतमको भनाइ छ । वर्षौँदेखि यहाँका किसानले रायो साग बिक्रीबाटै आम्दानी गर्दै आएकाले यसको प्रचारप्रसारका लागि मायाको चिनो साग हालेर दिइएको अध्यक्ष गौतम बताउँछन् ।

 

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले वडा नम्बर ११ ले राम्रो कामको सुरुवात गरेको बताए ।  बागलुङ नगरकै सबैभन्दा दुर्गम वडाका रुपमा रहेको रायडाँडा कृषिमा निकै सम्भावना बोकेको भन्दै पालिकाले यहाँका किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइरहेको छ ।

 

रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मनिर्भर रहेको छ । यहाँका किसानले तीन महिनादेखि दैनिक एक जिपभरी सागमात्रै बागलुङ बजार पठाउँदै आएका स्थानीय हिराबहादुर थापाले बताए । यहाँका बालिका, रुद्रबहादुर, दलबहादुर, चन्द्रबहादुर, तिल माया र टीकाबहादुर थापाले वार्षिक रू दुई लाखसम्म सागबाटै कमाउने गरी पाखोबारीभरी खेती गर्दै आएका उनले जानकारी दिए ।

 

“एक वर्षमा रायोको सागमात्रै बिक्री गरेर एउटा किसानले रू. तीन लाखसम्म कमाएको तथ्याङ्क छ । बजारमा मूल्य भने स्थिर छैन ।

 

अहिले धारापानीबाट एउटा जिपभरी साग मात्रै बजार जान्छ । कहिले धेरै कहिले थोरै मूल्य पर्छ । न्यूनतम रू २० मा एक मुठो बिक्री हुन्छ । व्यापारीले यहाँको साग पोखरा पठाएकोसमेत पाएका छौँ”, किसान थापाले भने, “यहाँको कालो माटोमा रायोको साग निकै झाङ्गिन्छ । एकपटक कसैले यहाँको साग खाएमा अर्कोपटक माग आइहाल्छ । हामीले माग र उत्पादनलाई मिलाउन नसकेको मात्रै हो ।” बजारका तीन पसलमा रायोको साग पाइन्छ भनेर बजारवासीलाई अवगत भइसकेको भन्दै रायाडाँडाको साग ‘ब्राण्ड’ बन्दै गएको उनले बताए ।

 

रायडाँडा बसाइँ सराइको चपेटामा रहे पनि धारापानी भने बगर बस्ती भएकाले यहाँबाट कम बसाइँसराइ हुने गरेको छ । यहाँका स्थानीयले रायोको सागसँगै मूला, काउली र बन्दासमेत उत्पादन गर्दै आएका छन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology