घ्याङलेख पालिकाको प्रशासकीय भवन निर्माणमा ‘आर्थिक अपचलन’को आशंका
ठकेदारले प्राविधिकका नाममा दुई लाख असी हजार रुपैयाँको चेक काटेको भेटियो
आरसी
आइत, मंसिर ३०, २०८१ | १८:१९ बजे
सिन्धुली । घ्याङलेख गाउँपालिकाको प्रशासकीय भवन निर्माणको विषयलाई लिएर पालिकामा विवाद सिर्जना भएको छ ।
०७८ सालमा ठेक्का लागेको घ्याङलेखको प्रशासकीय भवन निर्माणको काम २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेपछि निर्माण तीब्र अगाडि बढेको थियो । लगभग दुई वर्षमा बनाउने गरी ठेक्का लागेको भवन निर्माणको विषयलाई लिएर पालिकाका कर्मचारी, जनप्रतिनिधि र ठेकेदार विवादमा तानिएका छन् ।
पीपी निर्माण सेवा प्रालिले पालिकाको भवन निर्माणको ठेक्का लिएको थियो । अमित कार्की यो कामका ठेकेदार थिए । गएको असारमा पालिकाका प्राविधिक मुकेश पूर्वेको नाममा दुई लाख ८० हजारको चेक काटिएको भेटिएपछि यो विवाद सतहमा आएको हो ।
ठेकेदार अमित कार्कीले हस्ताक्षर गरेको चेकको मसी, लेखाई र माथि लेखेको नाम र अंक ठ्याक्कै एकै व्यक्ति र मसी भएको कलमले लेखिएको भन्दै भवन निर्माणको काममा ‘घुस’को डिल भएको दाबी पूर्व वडा अध्यक्ष रामकाजी वाइवाको छ । प्राइम कमर्सियल बैंकको चेक पालिकाका प्राविधिक मुकेश पूर्वेको नाममा काटिएको भेटिएको छ । तर यो चेकमा हस्ताक्षर गर्ने ठेकेदार अमित कार्की आफूले चेक साइन गरेर बोकेको तर नाम भने नलेखेको बताउँछन् ।
हामीसँगको सम्बादमा उनले चेकसहित पर्स नै हराएकोले चेक रद्द गर्न माग गर्दै निवेदन दिएको बताए । प्राइम कमर्सियल बैंकमा असार २१ गतेको मिति राखेर चेक हराएको भन्दै कार्कीले निवेदन दिएको देखिन्छ । उनको चेक असार २६ गते काटिएको देखिएको छ भने चेक हराएको भनेर असार २१ गतेको मितिमा निवेदन दिएका छन् । फेरि चेकमा नाम नलेखेको बताएका उनले हस्ताक्षर भने आफैँले गरेको र कम्पनीको छाप पनि हानेको बताए । चेक हेर्दा हस्ताक्षर गर्ने व्यक्तिले नै नाम र अमाउन्ट लेखेजस्तै देखिन्छ ।
उता पालिकाका प्राविधिक मुकेश पूर्वे पनि चेक आफूलाई नदिएको जिद्दी गरिरहेका छन् । हामीसँगको सम्बादमा उनले आफूलाई फसाउन आफ्नो नाम राखेर चेक सार्वजनिक गरिएको बताए । तर उनले नै ठेकेदारले त्यही दिन अन्य दुई चेक काटेको जानकारी भएको पनि बताए । उक्त जानकारी भने पछि छलफलमा थाहा भएको पूर्वेले सम्बादमा भने । उता ठेकेदार कार्कीले भने अरु चेक पनि त्यो बेला काटिएको र कामदारहरुले खाना खाएको पैसा तिर्न ती चेकहरु काटेर बुझाएको बताए । तर उनीविरुद्ध प्राविधिकलाई घुस दिएको आरोप लागेको छ ।
करारमा प्राविधिकको जागिर खाएका पूर्वेलाई यो विवाद सतहमा आएपछि पालिकाको कर्मचारीबाट निलम्बन गर्नुपर्ने माग बढेको थियो । तर उनलाई निलम्बन गरिएको छैन । ‘आरोप लागेको हो । आरोप प्रमाणित भएको छैन । हामीले आरोप प्रमाणित नगरी निलम्बन गर्न मिल्दैन’, घ्याङलेखका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले भने ।
‘लिनेले लिएको छैन भन्छ । दिनेले दिएको होइन भन्छ । लिनेले मलाईँ यो विषयमा थाहा छैन भन्छ । दिनेले मैले हस्ताक्षर र छाप लगाएको चेक गोजीबाट झरेर हराएर बैंकमा निवेदन गरेको छु भनेर निवेदन देखाउँछ । अरुलाई बद्नाम गराउने हिसाबले बाटामा चेक फ्याकेर इञ्जिनियरको नाम राखेर विवाद गरिएको भनिएको छ ।’, प्रशासकीय अधिकृत प्याकुरेलले भने, ‘चेक प्राप्त गर्ने अथक प्रयास हुँदा पनि ओरिजिनल चेक अहिलेसम्म फेला परेको छैन । ओरिजिनल चेक भेटियो भने विधिविज्ञान प्रयोगशालामा पठाएर त्यसलाई क्लियर गर्ने मेरो योजना थियो । फोटोमा चेक देखाउँछन् एक दुईजना व्यक्तिले । यही विषयलाई लिएर बार्गेनिङ गरिरहेका छन् ।’
चेक भेटिएको विषयमा र भवन निर्माणका क्रममा ‘घुस’को डिल भएको आशंकामा पालिकामा ६–७ पटक बैठक बसिसकेको छ । विभिन्न राजनीतिक दल तथा स्थानीय बासीको उपस्थितिमा भएको पछिल्लो पटकको बैठकमा चेकमा भएको हस्ताक्षर र नाम तथा अमाउन्ट लेखेको विषयमा विधि विज्ञान प्रयोगशालामा पठाउने सहमति भएको ‘घुस’का लागि चेक लिएको आरोप लागेका प्राविधिक मुकेश पूर्वेले जानकारी दिए ।
पालिकाले भवन बनाउँदा पहिला जति ठूलो बनाउने भनेर ठेक्का आब्हान गरिएको थियो काम सुरु हुनभन्दा अघि ठेक्कामा आब्हान गरिएअनुसार जग्गा नपुगेको भन्दै ‘भेरिएसन’ गरियो ।
पहिला ठेक्का लागेकै जमिनमा थप एक सेफ हाउस बनाएकाले जग्गा नपुगेको भन्दै ‘भेरिएसन’ गरिएको थियो । त्यसपछि काम सुरु भयो । अहिले पालिकाको तेस्रो तल्ला ढलानको काम हुँदैछ । भवन निर्माणका लागि थप ६ महिना समय थपिएकोमा अझै समय अपुग हुने पालिकाका उपाध्यक्ष शंकरमान घलानले जानकारी दिए ।
भवन निर्माण सम्पन्न नहुँदै भवन सानो बनाउन लभिङ गरेर घुस लिए/दिएको आरोप ठेकेदार, प्राविधिक तथा जनप्रतिनिधिमाथि लगाइएको छ । तर त्यसको पुष्टि भने भएको छैन । भवन निर्माणमा प्रयोग हुने सामानको क्वालिटी र भवनको आकार घटाएर ठकेदारसँग ‘घुस’ लिएको आरोप कर्मचारी र जनप्रतिनिधिमाथि लागेको छ ।
उता ठेकेदार कार्की भने गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलान र पूर्व वडा अध्यक्ष रामकाजी वाइवाबीचको राजनीतिक खिचातानीले आफूलाई समस्या भएको बताउँछन् ।
ठेकेदार कार्कीले त पूर्व वडा अध्यक्ष वाइवाले आफूसँग बारम्बार पैसा माग्ने गरेको दाबी गरे । विभिन्न बाहाना बनाएर पैसा माग्न आफ्नै मान्छे लगाएर वाइवाले चेकको विषय देखाएको आरोप ठेकेदार कार्कीको छ । विवाद नबढाउन भन्दै ठेकेदार कार्कीले वाइवालाई २० हजार रुपैयाँ दिएको पनि बताएका छन् ।
यस घटनामा सक्कली चेक खोजेर विधि विज्ञान प्रयोगशालामा पढाउने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले फोन सम्बादमा जानकारी गराए । यो विषय छानबिन हुनुपर्ने देखिएको छ । पालिकाको भवन पनि सम्झौताअनुसार निर्माण सामाग्री राखेर प्रयोग भए/नभएको अध्ययन गर्नुपर्ने देखिएको छ ।