बर्दिबास नगरपालिकाको फोहोरलाई मोहोर बनाउने योजना ७ वर्षपछि कार्यान्वयन
दैनिक ६ टन फोहोर जलाउन सक्ने इन्सिनेटर मेसिन स्थापना
Mayorsap
आइत, पौष ७, २०८१ | १३:१४ बजे
काठमाडौँ । स्थानीय सरकार सञ्चालन भएको सात वर्षपछि महोत्तरीको बर्दिबासमा फोहोर व्यवस्थापनको नयाँ अध्याय सुरू भएको छ । अघिल्लो स्थानीय सरकारले फोहोरलाई मोहोर बनाउने उद्देश्य लिएर सम्झौता गरेको सात वर्षपछि हिटा हेभी मेसिनरी रिसाइकल कम्पनीले औपचारिकरुपमा फोहोरलाई मोहर बनाउने प्रक्रिया गत शुक्रबारदेखि सुरु गरेको हो ।
बर्दिबास सहरबाट निस्केको फोहोरलाई सागरनाथ वन परियोजनाको जंगलभित्र डम्पिङ साइट बनाएको भन्दै चर्को आलोचना भइरहेका बेला नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले पुरानो सम्झौतालाई कार्यान्वयनमा ल्याएका छन् ।
पारम्भिक चरणमा कम्पनीले दैनिक ६ टन फोहोर जलाउन सक्ने इन्सिनेटर मेसिन स्थापना गरेको छ । बर्दिबासको मात्र फोहोर व्यवस्थापन गर्न यो इन्सिनेटर पर्याप्त बन्नेछ । हिटा हेभी मेसिनरी रिसाइकल कम्पनीका निर्देशक सुरेन्द्र साहका अनुसार नगर क्षेत्रबाट अहिले ३ देखि ४ टन फोहोर मात्र निस्कने गर्दछ ।
ठूलो इन्सिनेटर मेसिन ल्याएपछि यो फोहोर पर्याप्त नहुने र कम्तिमा ३ देखि ४ वटा पालिकासँग थप सम्झौता गर्नुपर्ने निर्देशक साहको भनाइ छ । अहिलेको इन्सिनेटरबाट निस्कने खरानीलाई समेत किसानले मलकोरुपमा प्रयोग गर्न सक्नेछन् ।
स्थानीय सरकारसँग भएको सम्झौताअनुसार कम्पनीले कुल आम्दानीको १२ प्रतिशत नाफा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ । २० वर्षको लागि भएको सम्झौतामा बर्दिबासलाई उत्पादित मल र कम्पोष्ट मलको प्रयोग गरेर हरित बर्दिबास वनाउन समेत कम्पनीले भूमिका खेल्ने उल्लेख छ ।
बर्दिबास नगरपालिकाको मोडल एग्रो भिलेजनजिकै ३ बिघा क्षेत्रफलमा निर्धारण गरिएको प्रशोधन केन्द्रमा थप संरचना बनेसँगै कम्पनीले कम्प्रेसर मेसिन, सेग्रिकेटर मेसिन, कम्पोष्ट स्टोरेज चेम्बर र ठुलो इन्सिनेटर पनि स्थापना गर्नेछ । जसले कम्पोष्ट मल, अण्डा राख्ने क्रेकर, रिसाईकलका सामानहरु उत्पादन गर्नेछ ।
थप मेसिन जडान गरेपछि दैनिक २० टन फोहोर विसर्जन गर्दै आम्दानी लिन सक्ने कम्पनीले जनाएको छ । तर, कम्पनीको कामलाई थप गतिशील बनाउन अघिल्लो स्थानीय सरकारले गरेका सम्झौताको केही बुँदाहरु संशोधनको आवश्यक रहेको नगरप्रमुख क्षेत्रीले बताए । फोहोरलाई मोहोर बनाउने र सफा, सुन्दर बर्दिबास बनाउने अभियानमा यो महत्त्वपूर्ण कोशेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरे ।