परराष्ट्रमन्त्रीको दिल्लीमा भएन राजनीतिक भेटघाट, प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित !
Mayorsap
मंगल, पौष ९, २०८१ | १०:४४ बजे

काठमाडौं । केही महिनाअघि भारत भ्रमणमा जाँदा परराष्ट्रमन्त्री आरजु राणा देउवाले नयाँ दिल्लीमा पाएको न्यायो आतिथ्यको सर्वत्र चर्चा भएको थियो । परराष्ट्रमन्त्री आरजुको भ्रमणले यसपटक पनि चर्चा त पाइरहेको छ, तर पहिलेभन्दा ठिक विपरीत रुपमा । यसपटक उनको नयाँ दिल्लीमा राजनीतिक भेटघाट किन भएन भन्ने चासो बढेको छ ।
परराष्ट्रमन्त्री भएपछि प्रधानमन्त्री कै हैसियतमा सम्मान पाएकी आरजुले अहिले भने सामान्य भेटघाट गरी फर्केकी छिन् । चीनमा बीआरआई सम्झौता पत्रको साक्षी बसेकी राणा यसपटक रित्तो हात फर्किाएकी हुन् । भारतमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमण गराउने उद्देश्यसहित परराष्ट्र मन्त्री राणाले गरेको ५ दिने दिल्ली यात्रा ‘उपलब्धि शून्य’ बनेको छ ।
युरोपबाट पुस ४ गते भारतको राजधानी नयाँ दिल्ली पुगेकी राणा पुस ८ गते स्वदेश फर्किन । प्रधानमन्त्रीको भारत भ्रमणका लागि नेपालका तर्फबाट अनौपचारिक मिति समेत प्रस्ताव गरिसकिएको थियो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव मार्फत जनवरी ९ को मिति प्रस्ताव गरिसकेकाले परराष्ट्रमन्त्री आरजु देउवा अनौपचारिक कूटनीतिक भेटमा व्यस्त थिइन ।
तर त्यहाँ कुनै पनि प्रकारको कुटनीतिक तवरको भेटघाट हुन सकेन । अन्नतः काठमाडौ विश्वविद्यालयले आयोजना गरेको संयुक्त कार्यक्रमलाई सम्बोधन गरेर केही समय स्वास्थ्य उपचारको नाममा दिल्ली बसेकी थिइन । प्रधानमन्त्री ओलीको भारत भ्रमण जनवरी ९ बाट टाढा भएको छ ।
स्वास्थ्य उपचारकै क्रममा दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएकी थिइन । नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय (क्लाइमेट जस्टिस) माग्न उनी मंसिर २४ मा त्यसतर्फ गएकी थिइन् । उनी बेल्जियम र जर्मनीमा पनि द्विपक्षीय भेटघाट र कार्यक्रममा सहभागी भएकी थिइन्। त्यतैबाट नयाँ दिल्ली पुगेकी उनले शुक्रबार इन्डो नेपाल आर्थिक सम्मेलनलाई भने सम्बोधन गरेकी थिइन् ।
परराष्ट्रमन्त्री आरजु दिल्लीमा रहेका बेला अर्को संयोग पनि रहेको एमाले उपमहासचिव प्रदीप ज्ञावाली पनि दिल्लीमै पुगेका थिए । आरजु एक्लैले भेटघाटको चाजोपाजो मिलाउन नसक्ने प्रधानमन्त्रीको भ्रमणको मिति तय गर्न नसक्ने भएपछि ज्ञावाली त्यहाँ पुगेको स्रोतको दावी छ ।
तर ज्ञावालीले कुनै एक कुटनीतिक मामिलाका जानकारहरुलाई भेटघाट गरेको औपचारिक अनौपचारिक पुष्टि भएको छैन । उनी पनि आरजुसँगै स्वदेश फर्केका छन् । नाकाबन्दीको बेला पनि ज्ञावाली ओलीको दूत भएर भारत गएका थिए । अहिले पनि ज्ञावालीको दिल्ली बसाईलाई ओलीको दूतका रुपमा बुझिएको छ ।