मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

दङ्गीशरण गाउँपालिका

सिमलताल दुर्घटना

छिन्नमस्ता गाउँपालिका

पर्यटन

उपनिर्वाचन

भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

Mayorsap

बुध, पौष १०, २०८१ | २०:४४ बजे

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन् । विभिन्न चर्च र मण्डलीमा शुभकामना आदानप्रदान गरेर क्रिसमस डे मनाइएको हो ।

उपत्यकाका भाटभटेनी सुपरमार्केट, सिभिल मल, सिटिसी मल, सिटी सेन्टर, काठमाडौं मल, लविङ मल, आइप्लेक्स मल, पिपुल्स प्लाजा, विशालबजारलगायत क्षेत्रमा क्रिसमसको साजसज्जासहितका ‘क्रिसमस ट्री’ आकर्षण बनेको थियो । बालबालिकादेखि युवायुवती तस्बिर खिचाउन र सेल्फी लिन व्यस्त देखिन्थे ।

बालबालिकालाई अभिभावकले सपिङ् मल तथा फनपार्क, चिल्ड्रेन पार्कलगायत स्थानमा लैजाँदा भीड बढेको थियो । ठाउँ–ठाउँमा साङ्गीतिक कार्यक्रम र जमघट भएको थियो ।

पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्गलगायत गन्तव्यमा  भीडभाड रह्यो । काठमाडौँ नजिकका नगरकोट, धुलिखेल, चन्द्रागिरि, लाकुरीझञ्ज्याङ आदी गन्तव्यमा पर्यटकको बाक्लो चहलपहल रहेको होटल सङ्घ नेपाल (हान)ले जनाएको छ । क्रिसमस इभमा ठमेलका होटलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल रहेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले बताए ।  

परिषद्को आयोजनामा कर्मचारी सञ्चयक कोष परिसरमा ‘फुड फेष्टिभल’ र सडक महोत्सव आयोजना गरिएको थियो । पर्यटकीय गन्तव्य र मुख्य चहलपहल हुने स्थानका रेष्टुरेन्टमा ग्राहकको ओइरो लागेको रेष्टुरेन्ट एन्ड बार एशोसिएशन अफ नेपाल (रेबान) ले जनाएको छ ।

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको विश्वास गरिने नेपाल ख्रिष्टियन महासङ्घले जनाएको छ ।

मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महोत्सवका रुपमा मनाउन थालिएको हो ।

हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले जनाएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज काठमाडौंमा क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको थियो ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology