रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
Mayorsap
शुक्र, पौष १२, २०८१ | ०७:१२ बजे

नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षीय सिंहको बिहीबार राति भारतको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो ।
बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो । एम्स अस्पतालले सिंहको निधन भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ ।
अचानक बेहोस भएर बिहीबार राति ८ बजेर ६ मिनेट जाँदा इमरजेन्सीमा भर्ना गरिएका सिंहको ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । अर्थशास्त्रीसमेत रहेका सिंहको जन्म १९३२ सेप्टेम्बर २६ मा भारतको पञ्जाबमा (अहिले पाकिस्तान) भएको थियो ।
त्यसबेला भारत र पाकिस्तान छुट्टिएका थिएनन् । सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंह सामान्य परिवारबाट आएर सफलता पाएको भन्दै सामाजिक सन्जालबाट श्रध्दाञ्जली दिएका छन ।