मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

मङ्गलसेन नगरपालिका

तातोपानी गाउँपालिका

रेसुङ्गा नगरपालिका

उपनिर्वाचन

व्यास नगरपालिका

कार्यापालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा

Mayorsap

शुक्र, पौष १२, २०८१ | ०८:४७ बजे

खोटाङ । केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ । गाउँपालिकाको सुविधा सम्पन्न सभा हलमा सञ्चालन हुँदै आएको नियमित बैठक यस पटक भने केपिलासगढीको खुला चौरमा सञ्चालन भएको हो ।

केपिलासगढीका अधिकांश जनप्रतिनिधि आफ्नै पालिकामा अवस्थित किरात ऐतिहासिकस्थल केपिलासगढी नपुगेकाले बैठकको माध्यमबाट उक्त स्थलको भ्रमण गराइएको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए ।

‘गाउँपालिकाको नामकरणको आधारसमेत रहेको केपिलासगढीमा गाउँ कार्यपालिकाका अधिकांश सदस्य पुग्नुभएको थिएन । बैठकको माध्यमबाट उहाँहरूलाई ऐतिहासिकस्थलको भ्रमण गराइएको छ’, उनले भने, ‘कार्यपालिकाको बैठकले केपिलासगढीको संरक्षण तथा प्रवर्द्धन गर्ने निर्णय गरेको छ । यसका लागि आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम ल्याउने कार्यपालिका बैठकमा सहभागी जनप्रतिनिधिबीच सहमति भएको छ ।’

कार्यपालिकाको बैठकमा केपिलासगढीका बारेमा पाटन संयुक्त क्याम्पस काठमाडौँका पूर्वप्राध्यापक एवं संस्कृतिविज्ञ चतुरभक्त राईले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा केपिलासगढी, यसको ऐतिहासिक पक्ष, यसमा गरिएका प्रयासहरू, अब गरिनुपर्ने कार्यक्रम उल्लेख गरिएको छ ।

बैठकमा सहभागी जनप्रतिनिधि तथा कर्मचारीका लागि थुन्चेमा बोकेर लगिएको सेलरोटी, अचार र सुठुनीका साथै स्थानीय किवीको जुस खाजाको रूपमा उपलब्ध गराइएको थियो । केपिलासगढी दरबार क्षेत्रमा पुरातत्व विभागको परामर्श र डिभिजन वन कार्यालय खोटाङको सहयोगमा भग्नावशेष संरक्षण गर्ने, गाउँपालिकाको पहलमा विभिन्न जातको गुराँसका बिरुवा रोप्नेलगायत क्रियाकलाप गरिएको छ । सिमेन्टको कङ्क्रिट प्रयोग गरेर निर्माण गरिएको बन्द कोठाको सट्टा प्रकृतिको काखमा बसेर पहिलो पटक कार्यपालिकाको नियमित बैठक सञ्चालन गरिएको हो ।

जलवायु परिवर्तनको असरबाट जोखिम क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाले जलवायुको असर न्यूनीकरणका लागि वार्षिक नीति, कार्यक्रम साथै विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । जलवायु असर न्यूनीकरण गर्नुपर्ने सांकेतिक अभियान र प्रयासका रूपमा समेत बैठक प्रकृतिमा गएर सञ्चालन गरिएको हो ।

बैठकमा पूर्वप्राध्यापक, समाजसेवी एवं संस्कृतिविज्ञ चतुरभक्त राईलाई गाउँपालिकाको तर्फबाट कदरपत्रसहित सम्मान गरिएको उपप्रमुख गुरुराज राईले जानकारी दिए । केपिलासगढीमा विसं १८३० सम्म किराती राजा निगुहाङले राज गरेको प्रमाण भेटिएको छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकृत गर्ने क्रममा अमरसिं थापा नेतृत्वमा आएको सैन्य टोलीले केपिलासगढी कब्जा गरेको जनाइएको छ । बाक्सिला बजार नजिकै रहेको केपिलासगढीमा राजा बस्ने दरबार, सैनिक क्याम्प, बंकरलगायत संरचना अझै देख्न सकिन्छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढीलाई संस्कृतिविज्ञ चतुरभक्त राईकै नेतृत्वमा संरक्षण गरेर राखिएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology