१२ वर्षमा भेरी–बबई डाइभर्सनको भौतिक प्रगति ६५ प्रतिशत मात्रै
Mayorsap
शुक्र, पौष १२, २०८१ | १३:१५ बजे

रुपन्देही। लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको राष्ट्रिय गौरवका आयोजना हो भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना ।
आर्थिक वर्ष २०६८/६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेपनि अहिलेसम्म ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याउनुका साथै ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने योजनाका साथ अघि बढाइएको यो आयोजनामा भएको ढिलाईले यसको लागत खर्च बढाइरहेको छ ।
आयोजनाका अनुसार बहुउद्देश्यीय आयोजनाको ६५ दशमलब ८ प्रतिशत भौतिक प्रगति गरेको, जस अन्तरगत टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्रोमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी उनले दिए ।
हाइड्रोमेकानिकलको भौतिक प्रगति ३९ प्रतिशत र प्रशारणलाइनको भौतिक प्रगति ५ प्रतिशत भएको छ । आयोजनाका निर्देशक रणबहादुर बमले अबको २ वर्षभित्र भेरी नदीको पानी बबई नदीमा झारेर सिंचाइ, विद्युत उत्पादन सुरु हुनेगरी काम भइरहेको जानकारी दिए ।
सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ बैशाख ३ गते‘ब्रेक थ्रु गरिएको थियो । चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)को संयुक्त निर्माणमा बनिरहेको छ ।