लुम्बिनी र कर्णाली प्रदेश सरकारबिच १९ बुँदे सम्झौता
Mayorsap
शुक्र, पौष १२, २०८१ | १५:४० बजे

सुर्खेत। कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबिच १९ बुँदे सम्झौता भएको छ । शुक्रवार कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका भएको दुई प्रदेशबिचको समन्वयात्मक बैठकले विभिन्न १९ वटा बुँदामा सम्झौता गरेका हुन् ।
ती सम्झौताहरू कार्यान्वयन गर्ने कुरामा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिबद्धता समेत जाहेर गरे ।
प्रदेश सरकार स्थापना भएपश्चात् यसरी दुई प्रदेशबिच सार्वजनिक सरोकारका विषयमा छलफल भएको पहिलो पटक हो । प्रतिबद्धतामा भेरी–बबई डाइभर्सनको रोयल्टी, १३२ केभीए कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइन लगायत दुई प्रदेशसँग जोडिएका विषयहरू समेटिएका छन् ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सम्झौतापत्रमा दुई प्रदेशका सरोकारका विषयमा साझा धारणा बनाएर दुबै प्रदेशको विकास र समृद्धिको लागि १९ बुँदे प्रतिबद्धता जाहेर गरिएको बताए ।
सम्झौतापश्चात् गरिएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै कँडेलले भने– ‘जे प्रतिबद्धता जाहेर गरेका छौँ, ती प्रतिबद्धता कार्यान्वयन गर्ने विषयमा हामी दृढ छौँ । कर्णालीको सिधा सम्बन्धदेखि प्रमुख नाका नै लुम्बिनीमा छ । धेरै कुरा उतैमा निर्भर हुनुपर्ने हुन्छ ।’ त्यो भएकाले पनि दुई प्रदेशका मुख्यमन्त्रीबिच छलफल गरेर नयाँ सन्देश दिन खोजेको कँडेलले बताए ।
प्रादेशिक संरचनामा गएपछि पहिलो पटक भएको अभ्यासले सकारात्मक सन्देश दिने कार्यक्रम भएको उनको भनाइ छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले प्रतिबद्धताहरू केवल प्रतिबद्धता मात्रै सीमित नरहने र कार्यान्वयन गरिने दाबी गरे । कार्यक्रमका लागि लुम्बिनीका मुख्यमन्त्री आचार्यसहितको २१ सदस्यीय टोली सुर्खेत आएको थियो ।