Ad Image

आइतबारदेखि मौसम क्रमशः सुधार हुँदै जाने

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1734626451.jpg

काठमाडौं । शुक्रबार रातिदेखि बदली भएको मौसम भोलिदेखि सुधार हुँदै जानेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि अहिले जस्तै बदली कायम रहने भन्दै आइतबार बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने जानकारी गराएको हो ।

विभागका मौसमविद् सञ्जीव अधिकारीले अहिले राति पनि देशभर बदली रहेको र पश्चिम नेपालका केही ठाउँमा वर्षा भइरहेको जानकारी दिए । उनले कालीकोट, डडेलधुराका केही स्टेसनमा १० मिलिमिटरभन्दा बढी पानी परेको बताउँदै कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी पानी परेको उल्लेख गरे । लुम्बिनीका केही क्षेत्रमा हल्का पानी परेको भन्दै हुम्लासहित हिमाली क्षेत्रमा बाक्लो हिउँ परिरहेको जानकारी दिए।

महाशाखाले आज साँझ जारी गरेको बुलेटिनअनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको जनाइएको छ । “हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ”, महाशाखाले उल्लेख गरेको छ ।

आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेश र कोशी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनेछ ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तर मौसम सुधारोन्मुख रहेको जनाइएको छ ।