कैलाश गाउँपालिकाले गरायो दश जनाको मोतियाविन्दुको शल्यक्रिया
पुनः परीक्षण पश्चात लगाउनुपर्ने चश्मा आवश्यकता अनुसार गाउँपालिकाले नै उपलब्ध गराउने
Mayorsap
आइत, पौष १४, २०८१ | ११:४२ बजे
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका दश जनाको मोतियाविन्दुको सफल शल्यक्रिया भएको छ । गाउँपालिका र हेटौंडा सामूदायिक आँखा अस्पतालको सहकार्यमा गत मङ्सिर २२ गते भाल्टारमा आँखा शिविर सञ्चालन गरिएको थियो । शिविरमा १६० जनाले आँखाको परीक्षण गरे मध्ये २० जनामा मोतियाविन्दु भएको कैलाश ग्रामीण आँखा उपचार केन्द्रका नेत्र सहायक सरोजकुमार मण्डलले बताए ।
१२ पुसमा भएको शल्यक्रियाका विरामीलाई १३ पुस विहान गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले कैलाश–९ निवासी खीलकुमारी पाण्डेको आँखाको पट्टि खोल्दै विरामीसँग आगामी दिनमा गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले एक महिनापछि पुनः परीक्षण पश्चात लगाउनुपर्ने चश्मा आवश्यकता अनुसार गाउँपालिकाले नै उपलब्ध गराउने समेत बताएका छन् ।
भौगोलिक दृष्टिले विकट भएकाले पनि आँखा परीक्षणमा पहुँच नपुगेको खण्डमा पालिकामा नै उपचार केन्द्र स्थापना गरेसँगै नियमित हरेक बुधबार वडामा रहेका स्वास्थ्य चौकीमा आँखा परीक्षण गर्दै आइरहेको बताए । हामीले आमाबुबा लक्षित कार्यक्रम मात्र नभई प्रत्येक विद्यालयमा समेत आँखा परीक्षणको अभियान सञ्चालन गर्दै आइरहेको अध्यक्ष मोक्तानले बताए । बुढेशकाल लागेर आँखा नदेखेको भन्दै रहनुको अवस्थामा कम्तिमा पनि आँखा परीक्षण गराउन सके र उपचार गराउन सके पनि बुबाआमाहरुले बुढेशकालमा पनि स्पष्टसँग आँखा देख्न सक्छन भनेर नै आँखा शिविर सञ्चालन गर्दै आइरहेको अध्यक्ष मोक्तानले बताए ।
शल्यक्रियाको लागि आवतजावत सुविधा दिनुका साथै लेन्स र चश्मा पनि पालिकाको बजेटबाट खरिद गरि निशुल्क वितरण गर्दै आइरहेका छौं, अध्यक्ष मोक्तानले भने । जेष्ठ नागरिक सहित विद्यार्थीहरुमा बृहत अभियान नै सञ्चालन गरी आँखाको परीक्षण गर्नेछौं । स्वास्थ्य र शिक्षामा नागरिकको पहुँच पु¥याउन सके मात्र पालिका समृद्ध तर्फ उन्मुख रहन्छ, हामी सोही अनुरुप शिक्षा, स्वास्थ्य, सरसफाई र खानेपानीलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं, उनले बताए ।
दश जनाको शल्यक्रिया पछि बाकीँ दशजनाको शल्यक्रिया अर्को चरणमा हुने गाउँपालिकाले जनाएको छ । हाल सम्म आँखा शिविरबाट पन्ध्र सय भन्दाबढीले लाभ लिइसकेका छन् भने पाँच सय भन्दा बढीको मोतियाविन्दुको शल्यक्रिया भइसकेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवले बताए । ती व्यक्तिहरुलाई गाउँपालिकाको बजेटबाट चश्मा र लेन्स प्रदान गरेका छौं भने शल्यक्रियाको लागि हेटौंडा आउनजानको सुविधा प्रदान गर्दै आइरहेको छ ।
कैलाश–९ निवासी खीलकुमारी पाण्डेले मोतियाविन्दुको शल्यक्रिया गरेकोप्रति खुसी व्यक्त गर्दै गाउँपालिका र अस्पताललाई धन्यवाद भनीन् । धमिलो देख्थे अब राम्रोसँग देख्छु होला, एक महिनापछि फेरी चेकगर्नुपर्छ भन्या छन्, उनले बताइन् । उनी मात्रै होईनन् कृष्णप्रसाद पराजुली, शिवमाया कार्की, पावर्ती सत्याल लगायतले पनि खुसी व्यक्त गर्दै गाउँपालिका अध्यक्ष सहित सम्पूर्णलाई धन्यवाद दिएका छन् ।