कचनकवलमा अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविर सम्पन्न, २४९ जनालाई अपाङ्ग परिचयपत्र वितरण


कचनकवल। झापा जिल्लाको कचनकवल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, आवश्यक पहिचान, तथा परिचयपत्र वितरण शिविर सम्पन्न भएको छ।
कचनकवल गाउँपालिका, प्रदेश सरकार, र करूणा फाउन्डेसनको त्रिपक्षीय सहकार्य र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत उक्त शिविर सञ्चालन गरिएको हो। गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीका अनुसार, शिविरमा २४९ जनालाई नयाँ अपाङ्गता कार्ड वितरण गरिएको छ।
अध्यक्ष राजवंशीका अनुसार, गाउँपालिकाका ७ वटा वडामा पुस ७ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको शिविरमा ८३० जनाले सेवा लिएका थिए । गाउँपालिका उपाध्यक्ष एवं अपाङ्गता समन्वय समितिका संयोजक नवराज भट्टराईका अनुसार, ७ दिनसम्म सञ्चालन भएको शिविरमा विभिन्न प्रकारका अपाङ्गता कार्ड वितरण गरिएको थियो।
शिविरमा आँखा, नाक-कान-घाँटी, फिजियोथेरापी, तथा मानसिक अपाङ्गताको सेवा पनि प्रदान गरिएको थियो। करूणा फाउन्डेसनका पालिका संयोजक अञ्जना लामिछानेका अनुसार, राष्ट्रिय जनगणना अनुसार कचनकवल गाउँपालिकामा १,५२८ जना अपाङ्गता भएका व्यक्तिहरु छन्। तर, स्थानीयस्तरमा गरिएको सर्वेक्षण अनुसार १,०५९ जनामात्र भेटिएका थिए। शिविरमा भने ८३० जनाले मात्र सेवा लिएका छन्। गाउँपालिकाको रेकर्ड अनुसार, यसअघि नै ९१५ जनाले अपाङ्गता कार्ड लिइसकेका थिए।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, कचनकवल गाउँपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सहयोगमा कचनकवलकको ७ वटै वडामा सञ्चालन भई पालिकाको प्राङ्गणमा सम्पन्न भएको थियो।
कार्यक्रममा अपाङ्गता समन्वय समितिका अध्यक्ष नवराज भट्टराई सभापतित्वमा रहे भने कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशी प्रमुख अतिथि रहेका थिए। विशिष्ट अतिथिका रूपमा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी र कोशी प्रदेशका पूर्व सांसद बसन्त बानियाँको उपस्थिति रहेको थियो।
करुणा फाउन्डेसन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइराला, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनाली, वडाध्यक्ष चिन्तामणी खरेल, समाजसेवी गीत प्रसाद भट्टराई, वडा सदस्यहरू बविता काफ्ले, टेनिस राजवंशी, लाल मियाँ, सन्तोष घिमिरे, करुणा फाउन्डेसनकी पालिका संयोजक अञ्जना लामिछाने र प्रदेश व्यवस्थापक सन्तोष घिमिरेको उपस्थिति समारोहमा विशेष रहेको थियो। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुर्याउन आवश्यक उपाय पहिचान गरी परिचयपत्र वितरण गरिएको थियो।