बुटवल नगरसभाबाट नगर गान अनुमोदन
Mayorsap
बिही, पौष १८, २०८१ | १३:३२ बजे

रुपन्देही । बुटवल नगरसभाले नगर गानलाई अनुमोदन गरेको छ । खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगरसभाबाट अनुमोदन गरिएको हो । १४ जनाले पेस गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट भएको हो । सोही नगर गानलाई अनुमोदन गर्दै प्रचलनमा ल्याएको नगर प्रमुख खेलराज पाण्डेयले बताए।
बुटवल उपमहानगरपालिकाको नगरसभाबाट नगर गान अनुमोदन भएको छ । उक्त नगरसभामा तीनवटा विधेयक र तीनवटै संशोधन प्रस्ताव पेस गरिएको छ । बुधबारबाट सुरु भएको १६औँ नगरसभामा तीनवटा विधेयक र तीनवटा संशोधन प्रस्ताव पेस गरिएको हो ।
सभामा विधेयक समितिका संयोजक नरेन्द्र बस्नेतले नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन विधेयक, मेयर युवा रोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालन विधेयक र करारमा कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धि विधेयक पेस गरेका हुन् ।
यस्तै, उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ संशोधनको प्रस्ताव र सामाजिक विकास समितिका संयोजक प्रदीप कुमार श्रेष्ठले छाडा चौपाया व्यवस्थापन र नियन्त्रण गौशाला सञ्चालन ऐन संशोधन प्रस्ताव टेबुल गरेका हुन् ।
नगरसभामा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई अब्बल नगर बनाउनका लागि हरेक क्षेत्रको समानुपातिक विकासमा जोड दिएको बताए । उनले जनतासँग गरेका वाचाहरु पूरा गर्नका लागि सबै जनप्रतिनिधिहरु एकसाथ अगाडि बढिरहेको बताए। उनले नगरको विकासमा कुनै पनि कमि हुन नदिने प्रतिबद्धता जनाउँदै सबैको साथ जरुरी रहेको बताए ।
बुधबार सुरू भएको नगर सभा बैठक यही पुस २९ गतेसम्मका लागि स्थगित गरिएको छ ।
नगरसभाबाट अनुमोदित नगर गान
चुरे पहाड, उर्वर तराई, तिनाउ कलकल
रामापिथेकश, बुद्धवल्ली गौरव बुटवल ।
बहु भाषा, धर्म संस्कार, थरिथरि जाति
वसन्तपुर, नुवाकोट मुस्कुराउँछन् माथि ।
मणिमुकुन्द, उजिरसिंह, जितगढीको माटो
घिउ बेचेर नुनतेल साट्ने पुर्खाको यही बाटो ।
कृषि, उद्योग, व्यापार र पर्यटनको लहर
देशकै अब्बल शिक्षा, स्वास्थ्य आधुनिक सहर ।
प्राकृतिक सम्पदा र सभ्यताको खानी
सिद्धभूमि बुटवलबासी हामी भाग्यमानी ।
हाम्रो खस्यौली
राम्रो बटौली
प्यारो बुटवल ।