स्थानीय तहका लागि संघीय सरकारको घरेलु तथा लघु उद्यमका ४० परियोजना
Mayorsap
बिही, पौष १८, २०८१ | १४:४३ बजे

काठमाडौँ । संघीय सरकारले १२० वटा स्थानीय तहमा लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन का विभिन्न ४० वटा परियोजना र कार्यक्रम संचालन गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तरगतको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले दिएको बजेटका आधारमा यस्तो कार्यक्रम देशका १२० वटा स्थानीय तहमा संचालन गर्नुपर्ने छ । यसका लागि मन्त्रालयले कार्यविधि नै बनाएर उद्यम र उद्योग प्रवर्द्धनका लागि विभिन्न ३९ वटा परियोजना तोकिदिएको छ ।
स्थानीय तहमार्फत लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन तथा प्रविधि सहयोग कार्यक्रम संचालन कार्यविधि बनाएर सरकारले उद्यम विकासको क्षेत्रमा ठूलो रकम लगानी गरेको लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका महानिर्देशक छविन्द्र पराजुली बताउँछन् ।
उनका अनुसार स्थानीय तहमा नियमित रुपमा जाने विभिन्न ४ शीर्षकको अनुदान भन्दा फरक बजेट उद्यमशीलता विकासका लागि स्थानीय तहमा पठाइएको हो । यो कार्यक्रम संचालन गर्न मन्त्रालयले बनाएको कार्यविधि अनुसार काम गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्रालयले बनाएको योजना र कार्यविधि अनुसार स्थानीय तहमा तोकिएको कार्यक्रमका लागि प्रशिक्षार्थीको छनौट गर्नेदेखि लिएर मन्त्रालयले उपलव्ध गराइदिएको बजेट परिचालन गर्नेसम्मको अधिकार सम्वन्धित स्थानीय तहलाई नै दिइएको महानिर्देशक पराजुलीले बताए ।