१३ अर्ब वार्षिक आम्दानी गरेसँगै त्रिभुवन विमानस्थल धेरै आम्दानी गर्ने विमानस्थलमध्ये पहिलो नंबरमा, दोस्रोमा पोखरा
Mayorsap
शुक्र, पौष १९, २०८१ | १५:४६ बजे

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्ष अवधिमा झण्डै १३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख छ । यो नेपालमा सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल समेत हो ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै आम्दानी गर्ने विमानस्थलको दोस्रो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ ।
यो विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु हुन नसकेपछि आन्तरिक उडान संख्या बढ्दा आम्दानी सुधार भएको छ ।
तेस्रो स्थानमा भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो विमानस्थलको वार्षिक आम्दानी २१ करोड १३ लाख रुपैयाँ रहेको छ । चौथो स्थानमा विराटनगर विमानस्थल छ । यस विमानस्थलको आम्दानी १७ करोड ५६ लाख रुपैयाँ बराबर छ ।