नेप्सेम्याकको सहकार्यमा सरसफाइमा जुट्यो स्थानीय तह
Mayorsap
आइत, पौष २१, २०८१ | १३:१८ बजे

काठमाडौँ । नेप्सेम्याकका विभिन्न शाखाहरुको सहकार्यमा शनिवार विभिन्न ठाउँमा सरसफाइ तथा सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
नागार्जुन नगरपालिका १ नम्बर वडा तथा प्रकृति टोल र विजयनगर टोलको सहकार्यमा टोलको सडक तथा सार्वजनिक स्थान सरसफाइ गरिएको छ ।
वडा नं २ को कार्यालय आसपासका क्षेत्र तथा शान्ति टोल विकास संस्थासँगको सहकार्यमा त्यस क्षेत्रका सडक तथा सार्वजनिक स्थानको सरसफाई गरिएको छ । नेप्सेम्याक स्वयम्भु शाखा कार्यालयको व्यवस्थापकीय सहयोगमा वातावरणीय सचेतना तथा विशेष सरसफाई सम्पन्न भएको हो ।
यस्तै नेप्सेम्याक र नागार्जुन नगरपालिका वडा नं ६ को संयुक्त आयोजनामा रामकोटको इचाडोलमा सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नेप्सेम्याक भक्तपुर शाखाको सक्रियतामा मध्यपुर थिमी नगरपालिका वडा नं ८ थिमिला टोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
नेप्सेम्याकका विभिन्न शाखाहरुको पहलमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शनिवारीय साप्ताहिक विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको नेप्सेम्याकका प्रवक्ता लक्ष्मीप्रसाद घिमिरेले जानकारी दिए ।
हरेक दिन नेप्सेम्याकका कर्मचारीहरुले कार्यक्षेत्रभित्रका सडक तथा सार्वजनिक स्थानहरुको सरसफाई गर्ने गरेका छन् भने शनिवार तथा सार्वजनिक विदाका दिनमा समुदायका अगुवा संस्थाहरु एवम् वडा कार्यालय एवम् टोल सुधार समितिहरुसँगको सहकार्यमा विशेष सरसफाई तथा सचेतना कार्यक्रमहरु आयोजना गर्ने गरेको छ ।