गोरखा–काठमाडौं एकीकरण पदमार्गमा नेपाली सेनाको छैटौँ संस्करणको पदयात्रा सुरु
Mayorsap
आइत, पौष २१, २०८१ | १३:२६ बजे

गोरखा । गोरखा–काठमाडौं एकीकरण पदमार्गमा नेपाली सेनाको छैटौँ संस्करणको पदयात्रा सुरु भएको छ । आइतबार गोरखा दरबारको हनुमान भन्ज्याङबाट यात्रा सुरु भएको हो ।
अधिकृत कमान्डको टोली टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज गणको झन्डासहित पदयात्रामा निस्किएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिए ।
उनीहरूलाई गोरखा दरबार परिसरमा एक कार्यक्रमका बीच टर्च र झन्डा हस्तान्तरण गरेर बिदाई गरिएको छ । पश्चिम पृतना हेडक्वाटर पृतनापति उपरथी मधुकरसिंह कार्की र स्थानीय जनप्रतिनिधिले संयुक्त रूपमा उनीहरूलाई टर्च र झन्डा हस्तान्तरण गरेका हुन् ।
पदयात्रामा निस्किएको टोली आइतबार पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै घाटबेसी पुगेर टर्च र झन्डा धादिङको शिवदल गणलाई बुझाउने छ । धादिङले नुवकोटको शेर गण र नुवाकोटले काठमाडौंको शिवध्वज गणलाई हस्तान्तरण गर्नेछ ।
कालीध्वज गणले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हनुमानढोकामा आयोजना हुने कार्यक्रमका लागि २६ पुस साँझसम्म हनुमानढोका स्थित शार्दुलजंग गुल्मलाई टर्च र झन्डा हस्तान्तरण गर्ने बताइएको छ ।
३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा गोरखाबाट पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
कार्यक्रममा बोल्दै पश्चिम हेडक्वाटर पृतनापति कार्कीले राज्य एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको गोरखा काठमाडौंको मार्गलाई समेटेर २०७६ सालदेखि पदयात्रा सुरु गरिएको बताए ।
एकीकरण मार्गमा रहेको कोट र गढी संरक्षणका गर्ने उदेश्य समेत रहेको उनले जानकारी दिए ।
गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले इतिहासको जगेर्ना गर्न पदयात्रा सहयोग पुग्ने बताए । राजधानी गोरखाबाट काठमाडौं सरेसँगै गोरखाको विकासले गति लिन नसकेको बताउँदै उनले यस्ता कार्यक्रममा जिल्लाको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको जानकारी गराए । नगरपालिकाले घोषणा गरेको भ्रमण वर्षलाई पनि यसले सहयोग पुग्ने उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले इतिहासको संरक्षणसँगै जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत पदयात्राले सहयोग पुर्याउने बताए ।