पुस २३ मा ‘१२४औँ धरान डे’ मनाउदै धरान उपमहानगरपालिका, रस्सी तान र छेलो हान्ने प्रतियोगिता हुने
Mayorsap
आइत, पौष २१, २०८१ | १४:२३ बजे
सुनसरी । धरान दिवसको अवसरमा पुस २३ गते मंगलबार धरान उपमहानगरपालिकाले १२४औँ धरान डे मनाउने भएको छ । सो अवसरमा रस्सी तान र छेलो हान्ने प्रतियोगिताको आयोजना गरेको छ ।
१२४औँ 'धरान डे' (धरान दिवस)को अवसरमा पुस २३ गते मंगलबार महिला र पुरुषको रस्सी तान र छेलो हान्ने प्रतियोगिता आयोजना गरिएको उपमहानगरको शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले जानकारी दिए ।
उनका अनुसार पुस २३ गते मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म हुने प्रतियोगितामा सहभागी हुन चाहनेले सोही दिनको बिहान १० बजेभित्र खेलाडी र टिम दर्ता गरिसक्नुपर्नेछ ।
रस्सी तान प्रतियोगितामा २ जना वैकल्पिकसहित ९/९ जना खेलाडी हुनुपर्नेछ भने छेलो हान्ने प्रतियोगितामा एक एकजना खेलाडी बीच प्रतिस्पर्धा हुनेछ । रस्सी तान प्रतियोगितामा विजेतालाई ८ वटा लोकल कुखुराको भाले र उपविजेतालाई ६ वटा लोकल कुखुराको भाले पुरस्कार स्वरुप दिइने प्रमुख खतिवडाले जनाए ।
उनका अनुसार छेलो हान्ने प्रतियोगिताको पुरस्कार विजेता खेलाडीले ३ वटा भाले र उपविजेता खेलाडीले २ वटा भाले पाउनेछन् ।