वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता गरेको अभियोग
Mayorsap
सोम, पौष २२, २०८१ | १८:४३ बजे
सप्तरी। जिल्ला अदालत सम्पतरीले डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सोमबार न्यायाधीश दीपक धितालको इजलासले उनीसहित अर्का आरोपी शिक्षक राजनारायण साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो।
अध्यक्ष साहसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । नवनिर्वाचित वडाध्यक्ष साह २० मंसिरमा शपथ समारोहबाटै पक्राउ परेका थिए । साह उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
सन्तोषीकुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप वडाध्यक्ष साहसहितका समूहमाथि लागेको छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका १३ वर्षका भाइ नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोपमा मुद्दा दर्ता भएको थियो ।
२०७९ फागुनमा डाक्नेश्वरी नगरपालिका– १ माधोपुर टोलस्थित आँपको बगैंचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी बेपत्ता पारिएको थियो । अहिलेसम्म पनि नितिश बेपत्ता छन् ।