सातदोबाटोमा रहेको एक अवैध कल सेन्टरबाट २९ जना महिलासहित ५३ जना पक्राउ
Mayorsap
मंगल, पौष २३, २०८१ | ०९:५२ बजे

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् । अनलाइनबाट जुवा खेलाएको आशंकामा केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ५३ जनामध्ये २९ महिला र ३ जना भारतीय नागरिक हुन् । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा भाडामा लिएको ४ तले घरबाट कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट ८५ वटा ल्यापटपका साथै ८२ वटा मोबाइल बरामद गरेको छ । उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआइबीले जनाएको छ ।