केन्द्रीय समिति बैठकमा बोल्न जनार्दनलाई प्रचण्डले दिए ‘विशेष समय’
Mayorsap
मंगल, पौष २३, २०८१ | १५:०१ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई बोल्नका लागि ‘विशेष समय’ उपलब्ध गराएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा पेस भएको प्रचण्डको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रममा शर्मालाई मंगलबार विशेष समय उपलब्ध गराइएको हो ।
अन्य नेताहरुले प्रतिवेदनमाथि धारणा राख्न तीन मिनेटको समय पाएकामा शर्माको हकमा भने १५ मिनेट समय दिइएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार उपलब्ध समयमा शर्माले यसअघि आफूले राखेको मतको विषयबारे संक्षिप्त ब्रिफिङ गर्दै पार्टी निर्माणका क्रममा नयाँ योजना बनाएर जानुपर्ने विषयमा धारणा राखेका थिए ।
यस्तै नेताहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र उच्चस्तरीय आयोग गठन गर्न पनि शर्माले प्रस्ताव गरेका छन् । यसबाहेक उनले पार्टीको तीन महिने अभियान सञ्चालन गर्दै आगामी भदौमा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।
आफ्नो प्रस्तावका कतिपय विषय अहिलेको प्रतिवेदनमा आएको र नआएका विषय महाधिवेशनमा छलफल गराउन आफू तयार रहेको शर्माले बताएको ती नेताको भनाइ छ ।