चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा अनुगमन, पुराना तथा कुच्चिएका फोहर जार नष्ट
Mayorsap
मंगल, पौष २३, २०८१ | २२:३५ बजे
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरि नगरपालिका क्षेत्रका पिउनेपानी उद्योगको निरीक्षण गरी पुराना तथा कुच्चिएका ९७ वटा जार नष्ट गरेको छ । पानी उद्योगले सफा जार प्रयोग गर्नुपर्नेमा पुराना, फोहर एवं कुच्चिएका जार प्रयोग गरेको पाइएकाले नष्ट गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।
मोबाइल फुड ल्याब भ्यान सञ्चालन गरी चन्द्रागिरि नगरपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र नगर प्रहरीका प्रतिनिधि तथा नगर उपप्रमुखसमेतको टोलीमार्फत प्रशोधित पिउनेपानी उद्योग र डेरी तथा बेकरी पसलका खाद्य पदार्थ निरीक्षण अनुगमन गरिएको उनले सुनाए । सो अवसरमा मोबाइल फुड ल्याब भ्यान प्रयोग गरी प्रशोधित पिउनेपानीका नमूना पनि परीक्षण गरिएको थियो ।
नगरपालिकाको सहकार्यमा नगर क्षेत्रमा दूध तथा दुग्धजन्य पदार्थका खाद्य व्यवसायमासमेत निरीक्षण अनुगमन गरिएको थियो । नगर क्षेत्रमा रहेका डेरी तथा बेकरी पसलको निरीक्षण अनुगमन गरी बिक्री वितरणमा राखिएका दूधको सात वटा, खुवाको एउटा, घ्यूको पाँच वटा, पनिरको एउटा, दहीको तीन वटा र महको एउटा गरी जम्मा १८ थान नमूना सङ्कलन गरी मोबाइल फुड ल्याब भ्यानमार्फत परीक्षण गरिएको छ ।
निरीक्षण अनुगमनका क्रममा एनडिडी कृषि तथा पशुपन्छी फार्म चन्द्रागिरि–१५ मा उपभोग्य मिति गुज्रेका चार थान दही तथा एक थान लच्छा पराठा भेटिएकाले नष्ट गरिएको थियो । पौडेल डेरी चन्द्रागिरि नपा १२ को खुला दूधको नमूना परीक्षणमा ‘निउट्रालाइजर’ पाइएकाले करिब १२ लिटर दूध नष्ट गरी कारबाही गरिएको विभागले जनाएको छ । विभागले अनुगमन निरीक्षणलाई निरन्तरता दिने प्रवक्ता महर्जनले बताए ।