प्रचण्ड र माधवबिच सिंहदरबारमा भेटवार्ता
Mayorsap
शुक्र, पौष २६, २०८१ | १६:१४ बजे
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता जारी छ ।सिंहदरबारमा उनीहरूबीच केहीबेरअघिदेखि भेटवार्ता चलिरहेको हो ।
अध्यक्ष प्रचण्ड र नेपालसहितका नेताहरू हिजो (बिहीबार) पनि भेट भएको थियो । बिहीबारको भेटमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसाल पनि सहभागी थिए ।
सो भेटमा समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेन्डाहरूका विषयमा छलफल भएको थियो ।
आजको भेटवार्तामा भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी छन् ।
समाजवादी मोर्चा लामो समयदेखि निष्क्रिय छ । ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।
पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने समाजवादी मोर्चामा सक्रिय छैन ।
बिहीबारको छलफलमा मोर्चामा उपेन्द्रलाई सक्रिय बनाउने जिम्मा माधव नेपाललाई दिइएको थियो । बैठकमा अध्यक्ष नेपालले उपेन्द्रसँग कुरा गर्ने जिम्मा आफूलाई लिनुपर्ने बताएका थिए ।