Ad Image

रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736426447.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पनि अदालत लगिँदैछ । लामिछानेको तर्फबाट थुनछेक बहस सकिए पनि जाहेरीवालाकोतर्फबाट भइरहेको थुनछेक बहस नसकिएपछि उनी गत आइतबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् ।

 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको छ । बहस नसकिएको भन्दै आइतबार र सोमबार उनलाई हिरासतमा राख्न आदेश दिएका हुन ।  मंगलबार सार्वजनिक विदा भएकाले बहस हुन सकेन । थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानुनी लडाइ लड्ने भन्ने आदेश आउन सक्ने जनाइएको छ । 

 

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीवार साँझ ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए ।  आइतबारदेखि अदालतमा हाजिर भएका लामिछाने काठमाडौंमा बिगत तीन दिनदेखि हिरासतमा रहँदै आएका छन् ।

 

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकाले काठमाडौंमा पनि बयान लिइरहेको हो । लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितलाई लागेको छ ।