नेताले अछुत बनाएको भन्दै गंगाजल छर्केर शहीदको सालिक शुद्धीकरण गरियो


सिरहा । मधेशी शहीदको सालिकलाई मधेशी दलका नेताहरूले अछुत बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाले शुद्धीकरण गरेका छन्। माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा रहेका मधेश आन्दोलनका शहीदहरुको सालिकलाई युवा तथा नागरिक समाजका अगुवाले गंगाजल छर्केर शुद्धीकरण गरेका हुन् ।
मधेश जनजागरण अभियानकाका संयोजक रंजित कुमार झाले मधेशी दलका नेताहरूले मधेशी शहीदको अपमान गर्दै आएको गम्भीर आरोप लगाएका छन् । उनले मधेशी युवालाई हत्या गर्ने ठूला दलका नेताको पाउपुजा गर्नेहरूले शहीदको शालिक छोएकोले अछुत भएको भन्दै गंगाजल छर्केर शुद्धीकरण गरिएको दाबी गरे।
मधेशका मसिहा भनिने उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतहरुले मधेश आन्दोलनका एजेण्डालाई छोडिसकेको भन्दै उनीहरू सत्ता र भत्तामा मात्र रमाइरहेको आरोप नागरिक समाजका अगुवाले लगाएका छन्।