Ad Image

सुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737470660.jpg

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा सुशासनको चुनौती रहेको बताएका छन् । स्थानीय सरकार सवलीकरण कार्यक्रमअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाद्वारा सुर्खेतमा आज आयोजित ‘अन्तरपालिकास्तरीय उत्तम अभ्यास आदानप्रदान कार्यक्रम’ मा मुख्यमन्त्री कँडेलले कर्णालीमा सुशासन, स्रोत साधनको उपलब्धता, त्यसको सही प्रयोग र पारदर्शिता कायम चुनौतीको सवाल भएको बताए । 

 

जिम्मेवारीमा रहँदा निर्भिकतापूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, “प्रदेश सरकारले कुनै व्यक्तिका आकाङ्क्षा र चाहना पूरा गर्न सकेन होला तथापि समग्रमा आम जनताको चाहनाअनुसारको काम गरेको महसुस गरेको छु र त्यसले नागरिकमा अनुभूति भएको पाएको छु ।” सुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयनमा हराउने प्रवृत्ति विद्यमान रहेकाले अब उपरान्त नडगमगाइ अघि बढ्दा सबैले समर्थन गर्ने परिस्थिति सृजना हुने उनको भनाइ थियो । 

 

पछिल्लो समयमा जनतामा केही हुन्छ, केही भएको छ र विकास गति लिन्छ भन्ने भावना बढेको आफूले पाएको बताउँदै मुख्यमन्त्री कँडेलले बाँकी कुरा जनताले मूल्याङ्कन गर्ने तर्क गरे । उनका अनुसार कर्णालीको विकासबिना मुलुकको विकास असम्भव भएकाले प्रदेश सरकारका प्राथमिकताका योजनामा सङ्घ सरकारले गम्भीरताका साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।