सगरमाथा आरोहण रोयल्टी बढेर १५ हजार डलर पुग्यो
Mayorsap
मंगल, माघ ८, २०८१ | २०:५४ बजे

काठमाडौं । सरकारले सगरमाथा आरोहण रोयल्टी ११ हजार अमेरिकी डलरबाट बढाएर १५ हजार डलर पुर्याएको छ । अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले पर्वतारोहण नियमावली स्वीकृत गरेसँगै विदेशी पर्यटकले वसन्त ऋतुमा सगरमाथा चढ्न अब १५ हजार डलर तिर्नुपर्ने भएको हो । सगरमाथासहित हिमाल आरोहण हरसम्भव सुरक्षित बनाउने गरी नियमावली आएको पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले बताए ।
उनका अनुसार ८ हजारभन्दा अग्ला हिमाल चढ्न लाग्ने दस्तुर बढी दरले वृद्धि भएको छ भने अन्य हिमालमा समेत दस्तुर बढेको छ । नियमावली राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आउने छ । यस पटक विशेषगरी ‘हिमाल आरोहण कम जोखिमयुक्त बनाउने, आरोहण व्यवस्थित गर्ने र जलवायु परिवर्तनका चुनौतीबाट हाम्रा सम्पदा जोगाउने गरी नियमावली बनेको उनले बताए ।
संरक्षण अभियन्ताहरूले हिमालमा भीडभाड अधिक भएको र सगरमाथा सस्तो गन्तव्य बनाइएको भन्दै लामो समयदेखि आलोचना गर्दै आएका थिए । यससँगै नेपाली नागरिकका हकमा समेत दस्तुर बढेको छ । नेपालमा ४ सय ६१ हिमाल आरोहणमा खुला भएका छन् । खुला गरिएको भए पनि ६८ हिमालमा अझै पनि मानव पाइला पुग्न सकेको छैन ।